सातै प्रदेशमा ‘समुदाय– प्रहरी साझेदारी’ अभियान सुरु, अपराध निस्तेज पार्ने लक्ष्य

7

काठमाडौं । नेपाल प्रहरीले समाजमा हुने आपराधिक क्रियाकलाप निस्तेज पार्ने लक्ष्यसहित देशका सात वटै प्रदेशमा एक साथ ‘समुदाय–प्रहरी साझेदारी’ अभियान सुरु गरेको छ । नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणा देशव्यापी रुपमा ७ वटै प्रदेश र ७७ वटै जिल्लामा शुभारम्भ गरेको हो ।




शान्तिपूर्ण र सुरक्षित समाजका लागि समुदाय–प्रहरी साझेदारी भन्ने मूल लक्ष्यका साथ देशव्यापी रुपमा यो अवधारणा शुभारम्भ गरिएको हो । अवधारणाको कार्यान्वयनबाट अपराध रोकथाम र सुरक्षा व्यवस्थापनमा जनसाझेदारी तथा अनुसन्धान जनसहयोग अभिवृद्धि हुने अपेक्षा राखिएको छ ।

यस अवधारणाले नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संघ संस्था, विद्यालय र मिडियाबीच साझेदारी स्थापना गरी नागरिक प्रहरी र समुदायबीचको सम्बन्ध, अन्तरक्रिया र आत्मनिर्भरताको बहसलाई संरचनागत र प्रणालीगत व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ ।




प्रहरीले यस अभियान मार्फत अपराध रोकथाम, सामाजिक विकृति विसंगति विरुद्ध जनचेतना फैलाउने, सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि गर्ने र समग्रमा सामुदायिक सुरक्षालाई मजबुत राख्ने र स्थानीय तहको बीचमा सम्बद्ध सरोकारवालाहरुलाई समेत समेटी संस्थागत साझेदारी निर्माण गर्ने लक्ष्य लिएको छ ।

यस कार्यक्रमलाई सफल बनाउन प्रहरीले स्थानीय तह, समाजिक संघ सस्था, विद्यालयबीच अपराध रोकथाम, सामुदायिक सुरक्षा र चेतना कार्यक्रमहरुकालागि साझेदारी गर्ने जनाएको छ ।

त्यसका लागि केन्द्रीय तहमा प्रहरी प्रधान कार्यालय र प्रदेशिक तहमा प्रदेश प्रहरी कार्यालयले समन्वय गर्ने भएको हो । त्यस्तै समुदाय प्रहरीको साझेदारीका आधारभूत संयन्त्रका रुपमा पाँच तह रहने व्यवस्था समेत गरिएको छ ।

त्यसका लागि समुदाय प्रहरी जिल्ला समिति, समुदाय प्रहरी पालिका समिति, समुदाय प्रहरी वडा समिति, समुदाय प्रहरी टोल समिति, प्रहरी विद्यालय सम्पर्क समिति बनाएर भावी योजनामा समुदाय प्रहरी साझेदारीलाई नेपाल सरकारको राष्ट्रिय प्राथमिकताका क्षेत्रको रुपमा समावेश गर्ने भएको छ ।

राजधानीको भृकुटीमण्डपमा आइतबार औपचारिक कार्यक्रम गरी गृहमन्त्री रामबहादुर थापाले अभियानको उद्घाटन गरे । गृहमन्त्री थापाले नेपाल सरकारले अंगीकार गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’ लक्ष्य हासिल गर्न मुलुकमा दिगो शान्तिको स्थापना जरुरी रहेको बताउँदै मुलुकमा सुशासन कायम गर्न र सुरक्षित समाजको स्थापना गर्न सबै प्रकारका अपराधलाई निष्तेज र नियन्त्रण गर्न समेत अवधारणाले प्रभावकारी भूमिका खेल्ने बताए ।

देशव्यापी रुपमा सातवटै प्रदेशमा नेपाल प्रहरीको नेतृत्वमा नयाँ पहलकदमीको सुरुवात भएको चर्चा गर्दै गृहमन्त्री थापाले यो अभियानलाई प्रहरीको मात्रै दायित्व नभनेर सबै समुदाय, नागरिकहरुको सक्रिय सहभागिता एवं भूमिका आवश्यक रहेकोमा जोड दिए ।

समाजमा शान्ति सुरक्षाको स्थापना एवं विकास र समृद्धिको मार्गमा अपराध मुख्य बाधक रहेको बताउँदै गृहमन्त्री थापाले अपराध नियन्त्रण गर्न प्रहरीले मात्रै होइन बर्दी बिनाका नागरिक समुदायले पनि प्रहरीको भूमिका निर्वाह गर्न जरुरी रहेको औंल्याए । साथै उनले प्रहरी र समुदायको संयुक्त प्रयास एवं साझेदारितामा नै समाजमा दिगो शान्ति स्थापना हुने विचार व्यक्त गरे ।

घरेलु एवं यौन हिंसाका घटनाका पछाडि मदिरा एवं लागूऔषध सेवन एउटा मुख्य कारक भएकाले त्यसलाई पूर्ण नियन्त्रण गर्न नेपाल सरकारले नयाँ योजना समेत सुरु गरिसकेको बताउँदै गृहमन्त्री थापाले लागूऔषध दुव्र्यसनी एवं मदिरा सेवन नियन्त्रण एवं निष्तेज गर्न स्कुलमा अध्यनरत विद्यार्थीहरुले पनि आफ्नो सक्रिय भूमिका निर्वाह गर्नुपनमा जोड दिए ।

समारोहमा गृहसचिव प्रेमकुमार राईले नेपाल सरकारले लिएको नीति एवं समाजमा शान्ति सुरक्षा र सुशासन कायम गर्न समुदाय–प्रहरी साझेदारीले प्रभावकारी भूमिका खेल्ने उल्लेख गर्दै साझेदारी अन्तर्गतका प्राविधिक पक्षहरुका सफल कार्यान्वयनमा गृह मन्त्रालयले सदैव नेपाल प्रहरीलाई साथ दिने प्रतिबद्धता व्यक्त गरे । समुदाय–प्रहरी साझेदारी कार्यक्रममा पूर्व प्रहरी कर्मचारीहरुको अनुभव समेत उपयोग गर्दै अगाडि बढे अझै प्रभावकारी रुपमा योजना सफल हुने विश्वास उनले व्यक्त गरे ।

सो अवसरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाले स्थानीय सरकार मार्फत प्रहरीले समुदायसँग सहकार्य गरेको काम उदाहरणीय रहेको बताए । नेपाल प्रहरीको सिंगो संरचना एकिकृत भएर अन्य पक्षलाई समावेश गरी यस कार्यक्रममार्फत मुख्य आधारभूत र अनिवार्य कार्यक्रमको लागि सुशासनको अनुभूति सामुदायिक अभ्यासबाट मात्रै हुने बताउँदै उनले सुरक्षाको प्रत्याभूति पनि प्रहरी र जनताको सामुदायिक प्रयासबाट प्राप्त हुने बताए ।

समारोहमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय–प्रहरी साझेदारी कार्यक्रमबारे अवधारणा प्रस्तुत गर्दै शान्तिपूर्ण र सुरक्षित समाजका लागि समुदाय–प्रहरी साझेदारी भन्ने मूल लक्ष्यकासाथ देशव्यापी रुपमा अवधारणा शुभारम्भ गरिएको उल्लेख गरे । उनले समुदाय–प्रहरी साझेदारीको औचित्य, आवश्यकता र आधारहरुबारे अवगत गराउँदै सुरक्षा र विकासको अन्तरसम्बन्ध, सामुदायिक प्रहरी र स्थानीय सरकार प्रणालीको सामञ्जस्यता, स्थानीय तह र नेपाल प्रहरीको साझेदारीका आधारहरु, विद्यालय सम्पर्क कार्यक्रमको औचित्य, अपराधमा बालबालिका र युवाको संलग्नता तथा सम्बद्ध जोखिमबारे विश्लेषणात्मक जानकारी गराए । साथै साझेदारी संयन्त्र, राष्ट्रिय समन्वय, महत्वपूर्ण साझेदारीहरु, सञ्चार साझेदारहरु, अन्तर्रा्ष्ट्रिय साझेदारहरु एकिकृत स्वयंमसेवक परिचालनको साथै कार्यक्षेत्र, प्राथमिकता र गतिविधिहरु लगायत विषयमा प्रकाश पार्दै सबैको सहयोग र सहकार्यको अपेक्षा रहेको बताए ।




सम्बन्धित
Loading...