पिपिएल टी-२० किकेट- बुटवल ब्लास्टर्सकाे लगातार दोस्रो जीत

0

कार्तिक, ११ । पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत बुटवल ब्लास्टर्सले लगातार दोस्रो खेलमा जीत हात पारेको छ। बुटवलले अाज भएको खेलमा घरेलु टिम पोखरा पल्टनलाई ३३ रनले पराजित गरेको हो।



बुटवल ब्लास्टर्सले १ सय ५१ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १७ रन मात्र जोड्न सक्यो। बुटवलले पहिलो खेलमा धनगढीलाई हराएको थियो। पोखराले भने पहिलो खेलमा विराटनगरमाथि जीत हात पारेको थियो।

पोखराका ओपनिङ ब्याट्सम्यान आसिफ शेखले २० रन जोडे। बुटवलका ललितसिंह भण्डारीबाट बोल्ड हुनुअघि उनले १५ बलमा ४ चौका प्रहार गरे। अर्का ओपनर कुशल भुर्तेल ९ रनमै आउट भएका थिए। विनोद भण्डारीले ६ रन र रविइन्दर सिंहले ११ रन भन्दा बढी रन जोड्न सकेनन्। कप्तान शरद भेषवाकरले २४ बल खेलेर १९ रन जोडे । उनले २ चौका प्रहार गरेका थिए।



मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेल २ रन र मेहबुब अलाम १ रनमै आउट भएका थिए। ललित राजवंशी ९ रन र विक्रम भुषास ८ रनमा नटआउट रहे।

बलिङमा बुटवलका बिपिन खत्री, ललितसिंह भण्डारी, सोमपाल कामी र रोहान मुस्ताफाले २-२ विकेट लिन सफल भए।

त्यसअघि पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको बुटवलले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५० रन जोड्यो।

बुटवलका लागि मध्यक्रमका ब्याट्सम्यान भीम सार्कीले अर्धशतक प्रहार गरे। उनले ४६ बलमा ५४ रन जोडे। सार्कीले बुटवलको इनिङ उकास्ने क्रममा २ चौका र ३ छक्का प्रहार गरे। उनले ३५ रन बनाएर खेलिरहेको बेलमा विकेट पछाडि विनोद भण्डारीले क्याच मिस गर्दा जीवनदान पाएका थिए।

त्यस्तै रोहान मुस्ताफाले ४५ रनको योगदान गरे। युएईका कप्तान उनले पोखराका शरद भेषवाकरको एलबिडब्लूको धरापमा पर्नुअघि ३५ बलमा ३ चौका र २ छक्का प्रहार गरे। मुस्ताफा र भीम सार्कीबीच तेस्रो विकेटका लागि ७३ रनको साझेदारी भएको थियो।

त्यसअघि ओपनरहरु चिराग सुरी ५ रन र सागर पुन २ रनमै आउट भएका थिए भने सिद्धान्त लोहनीले ११ बलमा १ छक्काको मद्दतमा १३ रन जोडे। कप्तान सोमपाल कामी अन्तिम २ बल बाँकी छदा २२ रनमा रनआउट भए। सोमपालले ८ बलमा २ चौका र १ छक्का प्रहार गरे।

बलिङमा पोखराका मोहमद नाभीदले ३ विकेट लिए। मेहबुब आलाम, शरद भेषवाकर र ललितनारायण राजवंशीले १-१ विकेट लिए।



सम्बन्धित
Loading...