नेपाली कृषि उपजलाई सिधा बजार पहुँच दिन कतारसँग महासंघको माग

0

काठमाडौं, १४ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निर्यात सम्भावना भएका कृषि उपजमा नेपाल र कतारबीच सहकार्य गरेर अघि बढ्नुुपर्ने धारणा राखेकी छन् ।



राष्ट्रपति विद्यादेवी भण्डारीको चारदिने राजकीय भ्रमणका क्रममा निजी क्षेत्रको नेतृत्व गर्दै कतार पुगेकी राणाले अहिले धेर थोर निर्यात हुँदै आइरहेको कृषि उपजलाई अझ बढवा दिन नेपाल र कतार सरकार मिलेर अघि बढ्नुपर्ने बताइन् ।



राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीसमक्ष कृषि र खाद्य सुरक्षा क्षेत्रमा सहकार्य सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । त्यसैगरी राणाले समझदारीमा उल्लेख भएको माछा, पशुपालन र कृषिमा सहकार्य गर्न सरकारले पहल गर्नुपर्ने बताइन् । नेपालबाट निर्यात सम्भावना रहेका अलैंची र अदुवाजस्ता व्यावसायिक बालीहरू भारत र भारतकै बाटो भएर तेस्रो मुलुक गइरहेकोमा कतारले तिनलाई आफ्नो बजारमा सिधै पहुँच दिनुपर्ने महासंघको भनाई छ ।
अध्यक्ष राणाले नेपालले श्रमिक पठाउने देशको रुपमा बनेको आफ्नो परिचय बदल्नुपर्ने बताइन् । कतारको अहिले नेपालमा म्यानपावरको व्यावसाय मात्र छ जसलाई हामीले फेर्न खोजिराखेका छौं । ‘नेपालमा अहिले सरकार समेत स्थिर रहेको र लक्ष्य आर्थिक समृद्धि भएकैले अन्य क्षेत्रमा लगानी बढाउन आग्रह गरिराखेका छौं,’  अध्यक्ष राणाले भनिन् ।



सम्बन्धित
Loading...