जनअपेक्षा अनुसारको परिणाम आउन ढिलो भयोः पूर्व समामुख घर्ती

0

नारायण भण्डारी
नवलपरासी, ७ कात्तिक ।
पूर्व सभामुख एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)की स्थायी कमिटी सदस्य ओनसरी घर्ति मगरले पार्टी एकिकरण र देश निर्माणको जिम्मेवारी एकैपटक आईलाग्दा जनअपेक्षा अनुसारको परिणाम देखिन ढिलाई भएको दाबी गर्नुभएको छ ।
प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल पश्चिम नवलपरासी शाखाको आयोजनामा सुनवलमा भएको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै घर्तिले अब पार्टी एकिकरण प्रक्रिया सकिए लगत्तै नेकपा संस्थागत ढंगले सञ्चालन हुने बताउनुभयो ।
केही समयमै स्थानीय तहसम्मै पार्टी एकताको काम सकिने र पार्टीका नेताहरुमा जिम्मेवारी बाँडिने बताउँदै उहाँले त्यसलगत्तै नेकपा नेतृत्वको सरकारको कामले तीव्रता पाउनुका साथै अपेक्षाकृत नतिजा देखिन थाल्ने नेतृ घर्तिले बताउनुभयो । नेकपा प्रदेश नं ५ की अध्यक्ष समेत रहेकी नेतृ घर्तिले पार्टी एकतामा ढिलाई हुँदा सरकारको काममा पनि प्रभाव परेको स्वीकार गर्नुभयो । उहाँले अव नेकपाले संस्थागत निर्णय गर्दे सरकारको कामलाई प्रभावकारी बनाउन थालेपछि नेपाली जनताले नेकपाले जनताका लागि के गर्दैछ भन्ने कुरा स्पष्ट रुपमा देख्दै बुझ्दै जाने भन्दै विश्वस्त हुन पनि आग्रह गर्नुभयो ।
प्रेस संगठनका केन्द्रीय सदस्य गोपी ज्ञवालीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेकपाका नेता डिलाराम आचार्य, घनश्याम यादव, थानप्रसाद गैरे, राष्ट्रिय सभा सदस्य रामलखन हरिजन, पूर्व सभासद द्धय सिता बौडेल, दुलारी हरिजन लगायतका नेताहरुको पनि सहभागिता रहेको प्रेस चौतारीका जिल्ला सचिव मोहन पौडेलले बताउनुभयो ।







सम्बन्धित
Loading...