भाइटीकाको उत्तम साइत ११ः५५ मा

0




काठमाडौं।  नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ ।  समितिको आज बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए । समितिले शुभ बेलाको साइत दिएको जनाइएको छ । यस वर्ष यमपञ्चक अर्थात् तिहार १९ कात्तिकदेखि सुरु हुँदै छ ।

१९ कात्तिक अर्थात् कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार तथा आयुर्वेदका प्रवर्तक धनवन्तरीको जयन्ती र यसै दिन भाण्ड त्रयोदशी पर्व पनि मनाइन्छ । २० कात्तिकमा कुकुर तिहार र नरक चतुर्दशी मनाइन्छ । काग र कुकुरलाई यमदूतका रूपमा मानिने गरिएको छ ।


२१ कात्तिक अर्थात् कार्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा गरिन्छ । यस दिन बेलुकी दीपमालिका गरेपछि लक्ष्मीको विधिपूर्वक आराधना गरिन्छ । कुल परम्परानुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेका छन् । २२ कात्तिकमा कार्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गोरु, कृषक र गोवद्र्धन पूजा हुन्छ । यस दिन वर्षभर हलो जोत्ने हलीको समेत पूजा गर्ने संस्कृति छ ।

कार्तिक शुक्ल द्वितीयाका दिन अर्थात् २३ कात्तिक भाइटीका परेको अध्यक्ष गौतमले बताए । तिहारको मुख्य दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसादस्वरूप सप्तरंगी टीका र फूलमाला लगाइदिने चलन छ ।




सम्बन्धित
Loading...