प्रदेश ५ ले तोक्यो आठ सार्वजनिक बिदा

0

विष्णु घिमिरे
प्रदेश ५ सरकारले प्रदेशमा ८ वटा छुट्टै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशस्तरीय पाँच तथा तीनवटा स्थानीय बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्बाट निर्णय गरिएका बिदा स्वीकृतिका लागि केन्द्रमा सिफारिस गर्ने निर्णयसमेत भएको छ ।




सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेश स्थापना दिवसदेखि प्रदेशका महत्वर्ण चाडपर्वमा बिदा दिने निर्णय गरेको बताए । प्रदेशका आफ्नै विशेषताका आधारमा बिदाहरू तय गरिएको मन्त्री चौधरीले बताए । केन्द्र सरकारले प्रदेश तहमा आवश्यक छुट्टै बिदाको विवरण माग गरेको थियो । केन्द्रबाट स्वीकृत भएपछि क्यालेन्डरमै बिदाबारेमा स्पष्ट जानकारी आउने प्रवक्ता चौधरीको भनाइ छ ।

यी हुन् प्रदेश र स्थानीय तहस्तरका बिदा




प्रदेश सरकारले प्रदेश सरकार स्थापना दिवस ३ फागुनलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यस्तै बकर इद, माघेसंक्रान्ति, गणतन्त्र दिवस र बुद्ध पूर्णिमामा बिदा दिने निर्णय गरेको छ । यी पाँच बिदालाई प्रदेशस्तरीय बिदा तय गरिएको छ ।

प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा स्थानीय बिदासमेत तय गरेको छ । जसमा थारू समुदायले मनाउने आइतबारी पर्वमा दाङ, बाँके र बर्दिया तथा भूमेपूजाका दिन रुकुम र रोल्पामा बिदा दिने निर्णय गरिएको छ । सरकारका प्रवक्ता चौधरीका अनुसार भगवती जात्रामा पाल्पामा बिदा दिने निर्णय भएको छ ।

विभिन्न विधेयक र कार्यविधि स्वीकृत
बैठकले विभिन्न विधेयकका अवधारणापत्र, कार्यविधि र विधेयक पनि स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पेस भएको प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेकोे विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति दिएको छ । सरकारका प्रवक्ता चौधरीका अनुसार बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट पेस भएको प्रदेश ५ जाँचबुझ आयोग गठन तथा काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पनि प्रदेश सभामा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।




सम्बन्धित
Loading...