शुरु भयो तिहार

0

कात्तिक, १९ ।




सप्तरङ्गी फूल र झिलिमिली बत्तीहरुको पर्व भनेर चिनिने यस बर्षको तिहार शुरु भएको छ। पर्व यस बर्षको तिहार कात्तिक १९ गते सोमबारका दिनबाट शुरु भएको हो । यो पर्व कात्र्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कात्र्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ। यस्लाई नै यमपञ्चक पनि भनिन्छ ।
यो पाँच दिवसीय पर्व विशेष गरी नेपालमा मनाइन्छ। यमपञ्चकको पहिलो दिन कात्तिक कृष्ण त्रयोदशी कागको पूजा गर्ने गरिन्छ। काग तिहार सोमबार परेको छ। काग सर्वभक्षी प्राणी हो। यसको पूजा गर्नुका विभिन्न कारण छन्। कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्न बालीमा लाग्ने कीरा–फट्याङग्राहरू खाइदिन्छ। कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ। काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो।
त्यस्तै मंगलबार कुकुर तिहार परेको छ। यो दिन कुकुरको पूजा गर्ने गरिन्छ । कुकुर तिहार यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरतिहार मनाइन्छ, जसका सम्बन्धमा विभिन्न धार्मिक एवं सामाजिक मान्यता रहँदै आएको छ। यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ। कुकुरले घरको रेखदेख तथा चोरडाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ ।
त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ। कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । कुकुर तिहारमा कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी माला लगाइदिने प्रचलन छ। बुधबार गाई तिहार र लक्ष्मी पूजा परेको छ । यो यमपञ्चकको तेस्रो दिन हो । गाईतिहार र लक्ष्मी पूजाका दिन गाईलाई गौमाताको रुपमा पुज्ने प्रचलन रहेको छ। कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नु अघि गाईको गोबरले घर–आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर–कोठा–चोटा पवित्र तुल्याउने हिन्दूहरूको संस्कार छ ।




गाईलाई पशुधनका रूपमा लिइन्छ। हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूप मान्छन्।
त्यस्तै यस दिन धनकी देवी लक्ष्मीको पूजा गर्ने प्रचलन रहेको छ। लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ। कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ। यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्दै घरघरमा बत्ती बाली लक्ष्मीको आव्हान गरिन्छ। गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ।
रामचन्द्रले लोककल्याणको भावनाले रावणादि विविध असुरहरूको नाश गरेपछि कार्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको प्रसड्डमा यस दिनदेखि घरघरमा दीपावली गर्ने प्रचलन पनि छ। त्यस्तै यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नु नपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको हो।
सुखसम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंसीका दिन धनकीदेवी लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिन्ह अंकित गर्नु वा शुभलाभ लेख्नु हाम्रो धार्मिक परम्परा रहेकोछ। नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ।
तिहारको चौथो दिनलाई गोरु तिहार भन्ने गरिन्छ । यसदिन गोरुको पूजा गर्ने घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । त्यसैदिन नेपालीहरूले सालभरि अन्न उब्जाउन हलो तानी मानिसहरूको पालनहारी गोरूको पनि पूजा गर्दछन् ।
यस दिन नेपाल सम्वत् ११३९ शुरु हुन्छ । नेपाल सम्वत अनुसारको नयाँ बर्ष शुरु हुने भएकोले नेवार समुदायले म्हः पूजा अर्थात आत्म पूजा गर्ने गर्दछन् ।
यस बर्षको तिहारको भाई टिका कात्तिक २३ गते परेको छ । यस दिनलाई तिहारको मुख्य दिनको रुपमा मान्ने गरिन्छ।
भाइतिहार (भाइ टीका) तिहारको अन्तिम दिन अर्थात कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । यो पर्व दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मिष्ठान्न परिकार खुवाउने, दिदीबहिनीलाई दानदक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ। यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । यी पाँच दिन इत्यादि दश दिक्पालले राजा बलिका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ।
भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य एवं दीर्घायूको कामना अन्तर्निहित छ। भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने मानिसहरूको विश्वास छ। टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ। यमराज, हनुमान, विभीषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्छन् ।


सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ। त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्ने गरिन्छ। फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिन्छन्।
भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्रीको माला लगाइदिने प्रचलन छ। मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्ग कहिल्यै उडेर जाँदैन । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन् । तिहारमा लगाइने टीका सात रङ्गका हुन्छन्, पहेंलो, नीलो, सुन्तला रङ्गको, सेतो, हरियो, रातो र कालो । सात रङ्गका यी टीकालाई सप्तरङ्गी भनिन्छ।
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको छ ।
यही दिन भगवान धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतरेस पनि भनिन्छ । यमपञ्चकमा मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास छ। त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ । पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ ।




सम्बन्धित
Loading...