नवलपरासीका नदी तालतलैयाहरुमा छठपर्वको रौनक

0

शोभा जिसी
नवलपरासी, २७ कात्तिक ।




तस्वीरः राकरण हरिजन
रामग्राम परासीमा रहेको झराही खोला नजिकै छठको मेलाको तयारी/तस्वीरः राकरण हरिजन

पूर्वी र पश्चिम नवलपरासीका तालतलैयाहरुमा छठपर्वको रौनक बढेको छ । नवलपरासीमा मुख्य गरी नारायणी, स्वर्ण भद्रा र पूर्ण भद्रा नदीको संगम त्रिवेणीमा छठ पर्वको ठूलो मेला लाग्ने गर्दछ भने पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको झराही खोलामा पनि ठूलो मेला लागेको छ ।
परासीको झराही खोलामा मेला व्यवस्थापनका लागि मात्रै रामग्राम नगरपालिकाले १८ लाख खर्च गरेको छ ।
त्रिवेणीमा मेला तथा छठ पर्व मान्न आउनेको सुरक्षाका लागि सुरक्षा व्यवस्था मजबुद पारिएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए ।
प्रमुख जिल्ला अधिकारी नेपालले सशस्त्र प्रहरी, जनपथ प्रहरी लगायतका सुरक्षाकर्मी परिचालन गरेको बताए ।
यता पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको झराही खोलामा पनि सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमले जनाएको छ ।




नवलपरासीमा त्रिवेणी र परासीका अलावा बर्दघाटे खोला, भुजहवा खोला, रामपुरवा झराही नदी खोला, हरपुर झराही नदी, महेषपुर बस पार्क, त्रिवेणी, कुडिया, नर्सही, गोपीगञ्ज, सेमरी, प्रतापपुर, ठूलो खैरटहवा, सोमनी लगायतका क्षेत्रमा छठ पर्वको सानाठूला मेलाहरु लाग्ने गरेको स्थानीय पत्रकार लक्ष्मी हरिजनले बताए ।
आज मंगलबार छठ पर्वको मुख्य दिन हो । गएराति (सोमबार राति) दर खाएर आज मंगलबार विहानैदेखि छठ पर्व मान्नेहरु पानी समेत नखाएर व्रत बस्ने गर्दछन् भोलि बुधबार छठको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्र व्रत सकिने गर्दछ ।
आज छठ पर्वको मुख्य दिन आज दुलही झैं सिंगारिएका नदी तालतलैया तथा खोला किनारमा अस्ताउँदो सूर्यलाई अर्घ दिने प्रचलन छ भने भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सकिन्छ ।
छठ पर्वमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि रातभर जाग्राम बस्ने प्रचलन पनि छ ।
भोलि अन्तिम दिन सूर्यलाई अर्घ दिंदा लगेका केरा, सुथनी, डण्डी, उखु, सिंहाडा, बदाम, बेसारको बोट, काँचो अदुवाको बोट, नरिवल, विभिन्न प्रकारका फलहरु कागती, काँचो चना, फर्सी, अनार, स्वाउ, सुन्तला, बेलौती लगायतका प्रसादहरु एक अर्कालाई वितरण गर्दै छठ समापन गरिने त्रिवेणीका पत्रकार प्रेमचन्द रौनियारले बताए ।
कुनै बेला मधेषी मुलको समुदायको पर्व मात्रै भनेर चिनिने छठ पर्व अहिले मधेष र पहाडीया सबै क्षेत्रको साझा पर्वको रुपमा विकास भएको रौनियारले बताए । यस पर्वमा महिलाहरु आफ्ना छोराछोरी, श्रीमान तथा आफन्तको को दिर्घायू, समृद्धिको लागि व्रत बस्ने गर्दछन् ।




सम्बन्धित
Loading...