नवलपुरमा विद्यालयभित्र पुस्तक विक्री
दाउन्ने संवाददाता
कावासोती । नवलपुरको केही विद्यालयहरूमा विद्यार्थीलाई पुस्तक विक्री वितरण गरिएको भेटिएको छ ।
विद्यालयको हाताभित्र कुनै पनि पुस्तक तथा शैक्षिक सामाग्री विक्री गर्न नपाउने संस्थागत विद्यालय सञ्चालन विधिमा प्रष्ट भए पनि त्यसलाई अटेर गरेर विद्यालयभित्र पुस्तक बिक्री गरिएको पाईएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ नवलपुरले जनाएको छ।
कावासोती स्थित सिद्धार्थ आवासीय विद्यालयमा कक्षा १० मा प्रयोग हुने प्रश्नहरूको संगालो तीनवटा सेक्सनका विद्यार्थीहरूको नाम लेखेर ९० वटा पुस्तक बिक्री गरिएको उक्त विद्यालयमा पढ्ने एक विद्यार्थीले बताएका छन् ।
विद्यार्थीलाई सहुलियतको नाममा विद्यालयभित्र पुस्तक, ट्रयाक, फोटो, स्टेशनरी लगायतका सामानहरू बेच्ने गरिएको पाईएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसाय महासंघका जिल्ला सचिव अर्जुन अविरलले बताउनु भएको छ ।
विगतका बर्षहरूमा यस्ता कार्यहरू भएको तर यसबर्षदेखि नगर्ने प्रतिबद्धता जनाए पनि हामीलाई अटेर गरिएकोले आवश्यक कारवाहीको लागि शिक्षा कार्यलय र सम्बन्धित निकायमा पत्र पठाउने निर्णय जिल्ला समितिले गरेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसाय महासंघ नवलपुरका अध्यक्ष रविन्द्र न्यौपानेले बताए।