रामेछापको हार्डवेयर पसलमा प्रशासनको ताला

5




१३ मंसिर, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले सदरमुकाम मन्थलीमा सञ्चालित एक हार्डवेयर पसलमा शिलबन्दी गरेको छ । हार्डवेयर सञ्चालकले अनुगमन टोली माथि नै अभद्र व्यवहार गरको भन्दै शिलबन्दी गरिएको हो ।

म्याद गुज्रिएको सामान बेचेको प्राइभेट फर्म नविकरण नगरेको र बिलहरुमा अनियमितता गरेको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको अनुगमन टोलीले शुभलक्ष्मी हार्डवेयर तथा सप्लायर्समा शिलबन्दी गरेको हो ।




नागरिकहरुको गुनासोपछि आफूहरुले पटक पटकको अनुगमन पछि सच्चिन आग्रह गर्दा उल्टै अनुगमन टोलीलाई नै अभद्र व्यवहार गरेपछि हार्डवेयर पसलमा शिल गरिएको अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी यज्ञ प्रसाद शर्माले बताए ।

उनले जिल्ला प्रशासनको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग समिति, मन्थली नगरपालिका, मन्थली नगरपालिका वडा नं. १, रामेछाप उद्योग वाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मञ्च र नेपाल पत्रकार महासंघ रामेछापका प्रतिनिधिहरुको रोहवरमा लगाइएको ताला आर्काे आदेश नआएसम्म नखुल्ने बताए ।

अनुगमन टोलीका सदस्य एवं रामेछाप उद्योग वाणिज्य संघ रामेछापका वरिष्ठ उपाध्यक्ष केशव घिमिरेले भने जिल्ला प्रशासनले लगाएको तालाका बारेमा आफूहरुलाई पूर्ण जानकारी नरहेको बताए । उनले हार्डवेयरमा लगाइएको तालाका बारेमा रामेछाप उद्योग वाणिज्य संघले थप अनुसन्धान गर्ने बताए ।

यता ताला लगाइएको शुभलक्ष्मी हार्डवेयर तथा सप्लायर्सका सञ्चालक सिताराम श्रेष्ठले भने आफूमाथि अनुगमन समितिले गलत आरोप लगाएर ताला लगाएको बताए । उनले अनुगमन टोलीमाथि आफूले अभद्र व्यवहार नगरेको दाबी गर्दै अनुगमन समितिले प्रभावकारी बजार अनुगमन गर्न नसकेको आरोपसमेत लगाए ।

रामेछापमा हार्डवेयर पसलको सेवालाई लिएर पटक–पटक सर्वसाधारण र नागरिक समाजबाटै विभिन्न गुनासाहरु आउने गरेका छन् ।




सम्बन्धित
Loading...