दयारानी’ मा दयाहाङ र दीया श्रीमान्–श्रीमती





कलाकार तथा निर्माता माओत्से गुरुङले नेपाली फिल्म निर्देशनमा डेब्यु गरेको फिल्म ‘दयारानी’ को फस्टुलक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले अर्को वर्षको जेठ १० गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ ।

फस्टलुक पोस्टरमा अभिनेता दयाहाङ राई रोमान्टिक अन्दाजमा देखिएका छन् भने अभिनेत्री दीया पुनलाई लजालु र दयालु स्वभावकी यूवतीको रुपमा चित्रण गरिएको छ । यसअघि यो कपलले ‘वीरविक्रम’, ‘ह्याप्पी डेट’, ‘मिस्टर झोले’ फिल्ममा काम गरिसकेका छन् ।




अभिनेता दयाहाङले आफ्नो नामसँग मिल्ने भएर ‘दयारानी’ नाम नराखिएको बताए । उनी भन्छन्, ‘फिल्मको कथाअनुसार नाम जुराइएको हो । मेरो नामसँग फिल्मको टाइटलको कुनै सम्बन्ध छैन ।’ निर्देशक माओत्सेका अनुसार, एक खराब श्रीमान र एक दयालु श्रीमतीको कथा फिल्मले भन्नेछ ।

निर्देशक भन्छन्, ‘दयाहाङको नामसँग मिल्ने भएर फिल्मको नाम ‘दयारानी’ राखिएको होइन । गुरुङ समुदायमा दयालु यूवतीलाई दयारानी भन्ने गरिन्छ । फिल्ममा अभिनेत्री दीयालाई दयालु युवतीको रुपमा ब्याख्या गर्न खोजिएको छ ।’ सिनेमा आर्टस्को ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्देशक स्वयम्ले लेखेका छन् ।




सम्बन्धित
Loading...