दाङ बस दुर्घटनाप्रति नेकपाद्वारा शोक व्यक्त





७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दाङमा बस दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति शोक व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबार बसेको स्थायी कमिटी बैठकले बस दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।




बैठकले बस दुर्घटनामा परी घाते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह पनि गरेको छ । त्यसैगरी दुर्घटनामा ज्यान गुमाएका परिवारलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

शुक्रबार दाङको घोराहीस्थित सहिद कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक चढेको गाडी शुक्रबार बेलुकी ५ बजेतिर दाङको तुलसीपुर नगरपालिका-३ राम्री भन्ने ठाउँमा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ ।

मलाई भावविह्वल बनायोः सभामुख महरा

यसैबीच सभामुख कृष्णबहादुर महराले पनि शोक विज्ञप्ति जारी गर्दै उक्त दुर्घटनाले आफूलाई निकै भावविहृवल बनाएको बताएका छन् । उनले मृतकहरुप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले उपचारमा कुनै कसर बाँकी नराख्न सम्बन्धित सबैलाई विशेष अपील गरेका छन् ।

वर्षेनी नेपालमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेहरुको संख्या बढिरहेको भन्दै उनले सवारी दुर्घटना न्यूनीकरण र नियन्त्रणका लागि सडकहरुको समय-समयमा मर्मत सम्भार, सवारी साधनहरुको अवस्थाको नियमित चेकजाँच र चालकहरुलाई सम्भावित दुर्घटनाबाट कसरी बच्ने-बचाउनेजस्ता प्रशिक्षणहरुको व्यवस्था गर्नतर्फ सरकारले गम्भीर भएर कार्यान्वयन गर्न जरुरी रहेको बताएका छन् ।




सम्बन्धित
Loading...