अभिभावक विहीन बालबालिकाको अभिभावक कुमारी नीजि शैक्षिक गुठी


दाउन्ने न्यूज ।
नवलपरासी, ८ पुस ।।




अभिभावक विहीन बालबालिका जो विद्यालयको पहुँचसम्म पुग्न सक्दैनन पुगे पनि किताबकापी, विद्यालय पोशाक किन्न नसकेर विद्यालय नियमित हुन सक्दैनन त्यस्ता बालबालिकाको ज्योति बनेर उभिएको छ कावासोती नगरपालिका ४ हसौरामा रहेको कुमारी निजी शैक्षिक गुठी । कुमारी निजी शैक्षिक गुठीले आफ्नो स्थापनाको १५ औं बसन्त पार गर्ने तरखरमा रहेको छ। स्थापनाको १५ औं बसन्तमा आइपुग्दा कुमारी निजी शैक्षिक गुठीले अहिलेसम्म तीन सय बढी अनाथ बालबालिकालाई शिक्षाको ज्योति दिएको छ।
कुमारी निजी शैक्षिक गुठीका योजना तथा लेखा प्रमुख दीपक श्रेष्ठका अनुसार यस गुठीबाट सञ्चालित विद्यालयमा अहिले होस्टेल सहित प्राथमिक तहको पठनपाठन हुने गर्दछ भने त्यो भन्दा माथि अध्ययन गर्ने विद्यार्थीहरुलाई गुठी आफैले खर्च व्यहोरेर हसौरामा रहेको सरस्वती मावि लगायतका विद्यालयहरुमा पढाइने गरिन्छ ।
यहाँ जनयुद्धमा अभिभावक गुमाएका बालबालिकादेखि विभिन्न कारणले अभिभावक गुमाएका अन्य बालबालिकाहरुले पनि पढ्दै आएका छन्। यहाँ २०५२ सालदेखि कुमारी प्रावि सञ्चालनमा रहेको छ। यही संस्था पछि कुमारी निजी शैक्षिक गुठीको रुपमा २०६० सालबाट सञ्चालनमा रहेको छ। यहाँबाट उच्च शिक्षा हासिल गरेका कतिपयले यही रोजगार समेत पाएका छन्। यही अध्ययन गरेका एक जना विद्यार्थी सूर्यबहादुर खाम्चाले डाक्टरी गरेर यही संस्थाबाट सञ्चालित कुमारी स्वास्थ्य सेवा केन्द्रमा डाक्टरको रुपमा कार्यरत समेत छन्।


जाडोको समयमा विद्यालयको प्राङ्गणमा पारिलो घाम तापेर अध्ययन गर्दै कुमारी निजी शैक्षिक गुठीबाट सञ्चालित विद्यालयका विद्यार्थीहरु।                                                                                                          तस्वीरः शोभा जिसी

श्रेष्ठ भन्छन् – उच्च शिक्षाभन्दा माथि पढ्न चाहाने यहीबाट उत्पादित विद्यार्थीलाई गुठीले नै खर्च गरेर पढाउने समेत गरेको छ । यहाँबाट अहिले एक जना विद्यार्थी गुठीकै खर्चबाट स्टाफनर्स समेत पढ्दै छन्। विद्यालयमा मात्रै ६ जना शिक्षक सहित अन्य कर्मचारीहरु गरी १५ जनाले रोजगार समेत पाएका छन् ।यहाँ हरेक बर्ष फाल्गुन चैत्रमा सार्वजनिक सूचना नै निकालेर अभिभावक नभएका बालबालिकाहरुका लागि भर्ना आव्हान गर्ने गरिन्छ। श्रेष्ठका अनुसार यसरी भर्ना लिँदा दुवै अभिभावक नभएकालाई पहिलो प्राथमिकता दिने गरिन्छ भने त्यसपछि आमाबुवा मध्ये कुनै एक अभिभावक नभएका र अन्य विद्यालयमा पढाउन नसक्ने विपन्न परिवारका बालबालिकालाई भर्ना लिने गरिन्छ।होस्टेलमै बसेर पढ्न पाउने सुविधा भएकोले यहाँ भर्ना भएका बालबालिकालाई लाग्ने पोशाक, खानपान, शैक्षिक सामग्री पनि गुठी आफैले ब्यहोर्ने गर्दछ । कुमारी निजी शैक्षिक गुठीले निुशल्क उपचार गर्ने गरी कुमारी स्वास्थ्य सेवा केन्द्र सञ्चालन समेत गरेको छ ।
त्यसैगरी यहाँका विद्यार्थीहरुलाई पौष्टिक आहारका लागि १० वटा गाईसहितको गाई फारम, आन्तरिक प्रयोजनका लागि पाउरोटी उद्योग, आर्गेनिक कृषि फारम सञ्चालन गरेको छ। त्यसैगरी कुमारी सामुदायिक अनमी तालिम केन्द्र, कुमारी छापाखाना कुमारी निजी शैक्षिक गुठीले सञ्चालन गर्दै आएको छ। यस गुठीले कावासोतीका ठूला शैक्षिक संस्था मध्यविन्दु कलेज, कुमारवर्ती बहुमुखी क्याम्पसलाई भवन निर्माणमा सहयोग गरेको छ ।
त्यसैगरी कुमारी निजी शैक्षिक गुठीकै कावासोती ३ को रामनगर चोकमा रहेको भवनमा जिल्ला अदालत नवलपुर सञ्चालनमा रहेको छ भने रेडक्रस कावासोतीलाई पनि भवन निर्माणमा ठूलो सहयोग गरेको छ। यसका अलवा नवलपरासीका ग्रामिण क्षेत्रका धेरै विद्यालयहरुमा भवन निर्माण गरी हस्तान्तरण गर्ने काम पनि आफ्नै खर्चमा गर्दै आएको छ।

के हो कुमारी निजी शैक्षिक गुठी ?

नेदरल्याण्डकी ६५ बर्षीया अविवाहित नारी ट्रेस भान रेज्वाइक यस संस्थाका संस्थापक हुन् ।
उनी विदेशी पर्यटकको रुपमा नेपाल आएको बेला नवलपरासीको आरुङ्गखोला (अरुणखोला) मा आमाबुवा दुवै नभएका एक जना विरामी बालिका अवस्थामा बेवारिसे अवस्थामा भेटेपछि उनले ति बालिकालाई उद्दार गरी उपचार गरिन्।
विरामी बालिकालाई गाउँलेहरुले उपचार गर्न समेत नलगेको देखेर उनी आफैले बालिकालाई उद्दार गरी उपचार गराएकी थिइन्। उपचारका क्रममा रेज्वाइकको नजिक भएकी ति बालिका (भीमकुमारी ढेंगा मगर) रेज्वाइकलाई आफ्नै अभिभावक जस्तो माया गर्दै नजिक भएका थिए।
त्यसको एक बर्ष पछि नेदरल्याण्डकी नागरिक रेज्वाइक पुन नेपाल आइन् र ति बालिकालाई भेटिन् । त्यसपछि उनले ति बालिकालाई आफैले पालनपोषण र संरक्षण गरिन् ।
त्यति नै बेला उनले नेपालमा अभिभावक विहिन बालबालिकाहरु अभिभावक बन्ने गरी नेपालमा केही गर्ने सोच बनाइन् र कुमारी नामक संस्था खोलिन । उनले नेपालको एक मात्र जीवितदेवी कुमारीको नाममा कुमारी निजी शैक्षिक गुठी स्थापना गरेकी हुन् । अहिले उनले यस संस्थामा बार्षिक डेढ करोड नेपाली रुपैयाँ खर्चिने गरेकी छिन् ।
यही संस्थाले अहिले कुमारी सामुदायिक अनमी तालिम केन्द्र, कुमारी छापाखाना, कुमारी स्वास्थ्य सेवा केन्द्र लगायत सञ्चालन गर्दै आएको छ ।

भुकम्प पीडितलाई घर हस्तान्तरण

कुमारी निजी शैक्षिक गुठीले नवलपरासीको देवचुली नगरपालिकाको कृतिपुरमा १२ घर भुकम्प पीडितलाई घर निर्माण सामग्री प्रदान गरेको छ । सरकारले उपलब्ध गराएको रकमबाट घर बनाउन नसक्ने अतिविपन्न १२ घर परिवारलाई घर निर्माणका लागि सिमेन्ट र इट्टा प्रदान गरिएको दिपक श्रेष्ठले बताए ।
निर्माण सकिएको घर शनिबार एक कार्यक्रमका बीच कुमारी नीजि शैक्षिक गुठीका संस्थापक ट्रेस भान रेज्वाइक हस्तान्तरण गरेकी छिन् । गुठीले प्रति घर करिब ४ लाख बराबरको सामग्री प्रदान गरेर घर निर्माणलाई सहयोग गरेको हो ।

आर्गेनिक खेती

विद्यालयमा रहेको बालबालिका र शिक्षक कर्मचारीहरुका लागि आर्गनिक तरकारी खेती लगाउँदै गुठीका कर्मचारीहरु

कुमारी निजी शैक्षिक गुठीले नवलपरासीका विभिन्न ९ स्थानमा किसानहरुका लागि आर्गेनिक तरकारी खेती तालिम पनि सञ्चालन गरेको छ। श्रेष्ठका अनुसार मानिसलाई किटनाशक औषधि छरेको तरकारीले स्वास्थ्यमा पर्न जाने असरबारे जानकारी गराउने र किसानहरुलाई आर्गेनिक खेतीतर्फ अग्रसर गर्न यस्तो तालिम सञ्चालन गरेको हो ।
त्यति मात्र नभएर कुमारी निजी शैक्षिक गुठीले आन्तरिक प्रयोजनका लागि आफ्नै जग्गामा आर्गेनिक खेती समेत सञ्चालन गर्दै आएको छ।




सम्बन्धित
Loading...