एप्पललाई एकै दिनमा ७५ अर्ब डलरको नोक्सानी





प्रविधिसम्बन्धी विशाल कम्पनी एप्पलले आफ्नो आम्दानी अपेक्षा गरेभन्दा कम हुने चेतावनी दिएलगत्तै उसको शेयरको कुल मूल्यमा ७५ अर्ब डलरको नोक्सानी भएको छ।

वाल स्ट्रिटमा बिहीवार एप्पलको शेयर मूल्य १० प्रतिशतले खस्कियो । चीनमा एप्पलका सामग्री बिक्रीमा गिरावट आएको चेतावनी लगत्तै त्यसको असर अमेरिकी शेयर बजारमा परेको हो।


प्रविधि कम्पनीहरूको शेयर सूचकाङ्क नाज्डाक ३ दशमलव १ प्रतिशतले गिर्‍यो। केही समय अगाडिसम्म एप्पल अमेरिकामा सार्वजनिक शेयर खरिदबिक्री हुनेमध्ये सबभन्दा ठूलो कम्पनी थियो। तर अब उसलाई अन्य तीन कम्पनीले उछिनिसके।

अब एप्पल भन्दा अगाडि माइक्रोसफ्ट, एमेजन र गुगलको स्वामित्व भएको अल्फाबेट कम्पनी रहेका छन्। तर पछिल्लो समय एप्पललाई आफ्ना सामग्रीको बिक्रीमा कमी आउने अनुमान पहिलै थियो। त्यसैले उसले अन्य क्षेत्रमा पनि अगाडि बढ्ने प्रयास गरिरहेको छ।

एप्पलका प्रमुख कार्यकारी टिम कुकले कम्पनीको आम्दानी घट्नुका पछाडि चीनमा उसको बिक्रीमा आएको मन्दीलाई दोष लगाएका छन्।

सन् २०१८ का अन्तिम तीन महिनामा एप्पलको आम्दानी ८४ अर्ब डलर मात्र हुने उनले बताए जबकि यसअघि सो आम्दानी ८९ अर्ब डलर हुने ठानिएको थियो।

अन्य उपभोग्य सामग्रीका कम्पनीहरू जस्तै मोबाइल कम्पनी एप्पलका निम्ति पनि क्रिसमस जस्तो चाडबाडको मौसम फलदायी मानिन्छ।

वर्षभर मध्ये सबभन्दा धेरै आम्दानी यही मौसममा हुने ठानिन्छ। तर यसपालि त्यस्तो हुन सकेन।

एप्पलको आइफोन मोबाइलको बिक्रीमा गिरावट आउनुलाई कम्पनीको आम्दानी घट्नुको प्रमुख कारण ठानिएको छ।

पहिले पहिले आइफोनको नयाँ संस्करण बजारमा आउने वितिक्कै मानिसहरू त्यसलाई किन्न निकै उत्सुक हुन्थे।कम्पनीको शोरुम बाहिर लामो लाइन लाग्ने गर्थ्यो।




सम्बन्धित
Loading...