ad

आज माघे संक्रान्ति पर्व धुमधाम मनाईंदै

147

काठमाडौं, १ माघ । आज माघे संक्रान्ति । मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति पर्व देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गर्नुका साथै घ्यू–चाकु, तिलको लड्डु र तरुल खाएर मनाईंदैछ ।


ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि(साउने संक्रान्ति) र मकर राशि(माघे संक्रान्ति)प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण । यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ तापनि आजभोली पुष ७ गतेबाटै दिन लम्बिन र रात छोट्टिन शुरु हुन्छ ।

आज विहानैदेखि देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई, त्रिवेणी लगायतका नदी र घाटमा स्नान, दान गर्ने भक्तजनहरुको विहानैदेखि घुइचो लागेको छ।




भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने उल्लेख छ। मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने-भन्ने यस पर्वमा गुरु, पुरोहित र ब्राह्मण आ-आफ्ना यजमानकहाँ गई महिना सुनाउँछन्। महिना सुनिसकेपछि गृहस्थीहरू गुरु, पुरोहितलाई टीका लगाई घिउ, चाकु, तरुल, लड्डुसहितको सिदा दान गर्छन्। शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ।

थारू समुदायको माघी पर्व

माघे संक्रान्तिलाई थारु समुदायले माघी पर्वको रुपमा मनाउने गर्दछन्। थारु समुदायको नयाँ बर्षको रुपमा समेत लिइने यो पर्व थारु समुदायले निक्कै धुमधामका साथ मनाउने गर्दछन् ।

थारु समुदायले माघी पर्वलाई लक्षित गरेर देशका विभिन्न स्थानहरुमा माघी महोत्सव समेत आयोजना गरेको छन् । माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी (माघी) खाने चलन छ।

मगर समुदायले पनि हर्ष उल्लाहाषका साथ मनाउँदै

नेपालका मगर जातिहरू बीच माघे संक्रान्ति लाई मुख्य पर्वको रूपमा धुमधाम सॅग मनाउने चलन छ ।
मगरहरूको राष्ट्रिय पर्व घोषणा भइसकेको माघे सङ्क्रान्ति पूर्व र पश्चिम अर्थात् मगरहरू बीचमै पनि भिन्न विशेषता र प्रकृतिमा मनाइने गरेको छ। माघे सङ्क्रान्तिलाई मगर समुदायले तीन दिनसम्म धुमधामका साथ चेलीबेटी पुज्ने र पितृ पूजा गर्ने पर्वका रूपमा मनाउने गरेको पाइन्छ।

आज मगर समुदायले गाउँ तथा नगर स्तरीइ कार्यक्रमहरु ठाउँठाउँमा गर्दै छन् । आज अधिकांश मगर गुम्बाहरुमा मगर समुदायले निक्कै रमाइलो गरी माघे संक्रान्ति मनाउँदछन्।

 



You might also like
Loading...