मुसहर जातिको हुर्का नाच लोप हुने अवस्थामा


सालिकराम भट्टराई 




कावासोती । मुसहर जातिको मौलिक हुर्का नाच लोप हुने अवस्थामा पुगेको छ । विपन्न र पिछडिएको समुदायका रुपमा चिनिने माझी, मुसहर समुदायमा निकै प्रसिद्ध हुर्का नाच नाच्नका लागि आवश्यक पर्ने सामग्रीको अभावका कारण लोप हुँदै गएको हो । विशेषगरी, युवा समुदायको यसतर्फ आकर्षण घट्दा हुर्का नाच लोप हुने अवस्थामा पुगेको राष्ट्रिय मुसहर संघका केन्द्रीय सदस्य सन्तबहादुर माझी (मुहसर)ले बताए ।

नाचका लागि हार्मोनियम, झ्याली, कर्ताल, मादललगायतका वाद्यवादन सामग्री आवश्यक पर्ने भए तापनि आर्थिक अभावका कारण यी सामग्री जोड्न नसक्दा आफूसँग भएको एउटा बाजाबाट मात्र जेनतेन पुर्खाको संस्कृति जगेर्ना गर्नमात्र भए पनि यो नाच नाच्न बाध्य हुनु परेको वर्षौंदेखि हुर्का नाचको संरक्षणमा लागेका बुद्धिराम माझी (मुसहर)ले बताए ।




माझी, मुसहर समुदायमा हुर्का नाच निकै लोकप्रिय मानिन्छ । बूढापाकाहरुले गाउँने र युवा पुरूषहरु महिलाका भेषभूषामा सजिएर ठट्यौली गर्दै यस नाचमा नाच्ने तथा गाउँने गरिन्छ । केटा मान्छे साडी, ब्लाउज, कानमा झुम्का, निधारमा टीका र हातमा चुरा लगाएर नाचमा नाच्ने गर्दछन् भने अर्काले जोकर बनेर उसलाई सघाउने गर्दछन् । अन्यले झ्याली, मादल, हार्मोनियम, कर्ताललगायतका वाद्यवादन सामग्री बजाउने गर्दछन् । यो नाचमा जम्मा १२ जना हुने गर्दछन् ।

पछिल्लो समय युवापुस्तामाझ हुर्का नाच हराउँदै गएकोमा यो समुदायका अगुवाहरु निकै चिन्तित छन् । कसैले आवश्यक पर्ने वाद्यवादन सामग्री किन्न सहयोग गरे युवापुस्तालाई यो नाच सिकाउने चाहना छ, यो समुदायका अगुवाहरुको ।

नारायणी नदीकिनारमा बसोवास गर्दै आएका यी समुदाय कुनै बेला राजामहाराजाहरु जंगलमा सिकार खेल्न आउँदा खुसी पार्न गाउँदै, नाच्दै गर्दा मुसहर समुदायको मौलिक नाच बन्दै गएको इतिहास छ । त्यस्तै, नारायणी नदी तथा अन्य नदीकिनारहरुमा माछा मार्न जाँदा नदीकिनारमै रात काट्नुपर्ने भएकाले माछा मार्न समूहमा गएका माझी मुसहरहरु यही हुर्का नाच नाचेर रात बिताउने गर्दथे ।

सीमान्तकृत समुदायमा पर्ने मुसहरको जनसंख्या नेपालमा डेढ लाखको हाराहारीमा रहेको मानिन्छ ।




सम्बन्धित
Loading...