नेवा: काे थाकथलाे अतिक्रमकाे विराेधमा प्रदर्शन





काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाल काठमाडौंले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । असनबाट सुरु भएको विरोध प्रदर्शनसहितको ¥याली त्यौद, ज्याँठा, ठमेल–छायाँदेवी कम्प्लेक्स, भगवानबहाल, ठमेल डबली, जेवी स्कूल, क्षेत्रपाटी, ट्यांग, भेडासिंह हुँदै इन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठ र नेवाः अधिकारका अगुवा डा. महेशमान श्रेष्ठले सम्बोधन गरेका थिए ।

मोर्चाले बाहिरी चक्रपथ, स्मार्ट सिटी, फास्टट्र्याक, सुखा बन्दरगाह निर्माण तथा सडक विस्तारको नाममा उपत्यकाका नेवारहरुको आदि भूमि, ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक सम्पदालगायत कला संस्कृति झल्कने, मठ, मन्दिर मास्ने काम तीव्र रुपमा भइरहेको र आफ्नै भूमिबाट नेवाहरुलाई बेदखल पार्ने षड्यन्त्र बढिरहेको भन्दै सरकारको विरुद्धमा विरोध प्रदर्शनको आयोजना गरेको हो । नेवारहरुको विशेष साँस्कृतिक तथा धार्मिक महत्व बोकेको करिब १३ रोपनीमा फैलिएको ठमेलस्थित कमलपोखरी गैरकानुनी रुपमा पूर्णतः अतिक्रमण गरी भूमाफियाहरुले बनाएको छायाँदेवी कम्प्लेक्सको पनि मोर्चाले विरोध गरेको छ र उक्त भूमि सार्वजनिक कायम गराउन सरकारसँग माग गरेको छ । मोर्चाले बढ्दो महंगी, भ्रष्टाचार, कालोबजारीका साथै निर्मला पन्तको हत्यारामाथिको कारबाही, सीमा अतिक्रमण, नक्कली नक्सा प्रयोग, १० हजार वर्ग किमी भूमि गायब पारिएको सबालमा पनि सरकारको चर्को आलोचना गरेको छ ।




मोर्चाका केन्द्रीय अध्यक्ष श्रेष्ठले कोणसभालाई सम्बोधन गर्दै सरकारले घोषणा गरे अनुसार बाहिरी चक्रपथ मात्रै बन्ने हो भने पनि ३ लाख रोपनी खेतीयोग्य भूमि अतिक्रमण हुने, त्यसको प्रत्यक्ष असर उपत्यकाबासी नेवाः समुदायमा पर्ने र उनीहरु आफ्नो थातथलोबाट विस्थापित हुन पुग्ने दावी गरे । विकास र समृद्धिको नाममा वर्तमान ओली सरकारले आफ्नै भूमिबाट नेवाः समुदायलाई विस्थापित गर्ने षड्यन्त्र गरिरहेको श्रेष्ठले आरोप लगाए । उनले अहिलेको संघीयता नक्कली संघीयता भएको दावी गर्दै सक्कली संघीयता भएको भए नेवाः समुदायले आफ्नो हितका लागि आफै निर्णय गर्ने अधिकार पाउँथे ।वास्तविक संघीयतामा उत्पीडित जातिहरुको स्वायत्त शासन हुने भन्दै श्रेष्ठले त्यसका लागि मुलुकमा संघीय जनगणतन्त्रको आवश्यकता रहेको औल्याए । उनले भने, “नेवाः, तामाङ, मगर, गुरुङ, राई, लिम्बू लगायत सबै उत्पीडित जातिहरुको वास्तविक मुक्तिका लागि स्वायत्त शासनमा आधारित पहिचानसहितको संघीयताको आवश्यकता पर्दछ । त्यसका लागि एउटा आमूल परिवर्तनकारी क्रान्तिकारी आन्दोलनको आवश्यकता छ । उत्पीडित वर्ग र जाति एक भएर गरिने नयाँ जनवादी क्रान्तिले मात्र त्यस्तो अधिकारको स्थापना गर्न सक्ने श्रेष्ठले दावी गरे ।

त्यस्तै नेवाः अधिकारका अगुवा डा. महेशमान श्रेष्ठले नेवाः समुदायको अधिकारका लागि सबै एकजुट भएर अधिकारको आन्दोलन चर्काउनुपर्ने बताए । उनले नेवारहरु आफ्नो अस्तित्व रक्षाका लागि अब सडकमा उत्रिने बेला आएको बताए । कार्यक्रमको सञ्चालन नमस्ते सायमीले गरेका थिए भने मोर्चाका नेताहरु शिव श्रेष्ठ र गोर्की श्रेष्ठलगायतका नेताहरुको समेत कोणसभामा उपस्थिति रहेको थियो ।




सम्बन्धित
Loading...