सरकारले निर्धारण गरेको मूल्य अनुसार उखु खरिद गर्न कृषि मन्त्रीको निर्देशन


श्याम थापा,
नवलपरासी (सुस्ता), १४ माघ ।




नवलपरासीका चिनी मिल सञ्चालकहरुले सरकारले निर्धारण गरेको उखुको मूल्य अनुसार उखु खरिद गर्न आनकानी गरिरहेको बेला कृषि मन्त्री चक्रपाणी खनाल नवलपरासीमै आएर उखु मिल सञ्चालकहरुलाई सरकारले तोकेको दर अनुसार उखु खरिद गर्न निर्देशन दिएका छन् ।
पश्चिम नवलपरासीको दक्षिणी क्षेत्रमा कृषि क्षेत्रको अनुगमनमा आइपुगेका मन्त्री खनालले किसानहरुको ज्ञापन पत्र बुझ्दै यस्तो निर्देशन दिएका हुन् । उनले सरकारले निर्धारण गरेको मूल्यमा अलिकति पनि तलमाथि नगर्न उद्योगीहरुलाई आग्रह गर्दै यदि चिनी मिल सञ्चालकहरुले सधै किसानहरुलाई यो वा त्यो बाहानामा दुख दिने क्रम नरोकिए किसानहरुलाई नै सहकारीमार्फत मिल चलाउन आग्रह समेत गरे ।
उनले भने सरकारले अनुदान दिएको छ, तोकिएको मूल्य भुक्तान गर्नु पर्छ त्यसो पनि गर्दैन भने किसान दाजुभाईहरु मिलेर सहकारी बनाउनुहोस् अनि सहकारी मार्फत नै चिनी मिल सञ्चालन गर्नुहोस् सरकार त्यसका लागि गर्न पर्ने सहयोग गर्न तयार छ ।
कृषि मन्त्री खनालले सोमबार पश्चिम नवलपरासीको सुस्ता र प्रतापपुर गाउँपालिकाको कृषि क्षेत्र अनुगमन गरेका हुन् ।
अनुगमन पछि यस क्षेत्रका उखु उत्पादक किसान र केरा उत्पादक किसानहरुसँग सामुहिक छलफल समेत गरेका थिए ।
छलफल कार्यक्रममा बोल्दै मन्त्री खनालले आफ्नो कार्यकालमा कृषि क्षेत्रमा किसानहरुलाई कुनै किसिमको समस्या हुन नदिने दावी गरे ।
यसबीच केरा उत्पादक संघ नवलपरासीले सुस्ता गाउँपालिकाको वार्ड न ५ पक्लिहवामा मन्त्री खनाललाई सम्मान कार्यक्रम राखी किसानहरुको समस्या समेटिएका १० बुदे माग पत्र पनि बुझाएका छन् ।
केरा उत्पादक संघ नवलपरासीले नवलपरासी जिल्ला भित्र सुस्ता र प्रतापपुर गाउँपालिकाको बीचमा शित भण्डार निर्माण गर्नु पर्ने, कृषि आधुनिक औजार खरिदमा अनुदानको व्यवस्था गर्नु पर्ने, नर्सरीको व्यवस्थापन राज्यबाट गर्नु पर्ने, केरा खेतीको बिमा गर्न प्रतिबोट लागत खर्च हालको नयाँ दर रेट अनुसार लागतदेखि प्रतिफलसम्म बिमा निति परिमार्जन गरि लागू गर्नुपर्ने लगायतका माग सहितको ज्ञापन पत्र बुझाएका हुन् ।
त्यसैगरी ज्ञापन पत्रमा सरकारको आफ्नै पहलमा उचित बजार व्यवस्थापन गर्नुपर्ने, बजार व्यवस्थापन सम्बन्धि व्यापारी र किसान बीचको तालिम गोष्ठी, भ्रमण र अन्तरक्रिया सम्बन्धित कार्यक्रम संचालन गर्नुपर्ने, बिरुवा, बिउ, मल, बिषादी लगायतका रासायनिक, आर्गेनिक खाद मलहरु सहज र सुपथ मुल्यमा र अनुदानमा पाउनु पर्ने लगायतका मागहरु समेटिएको छ ।
त्यसैगरी उखु किसानहरुले प्रतापपुरको बेलाटारीमा कार्यक्रमको आयोजना गरी ३ बुदे माग मन्त्री खनाललाई बुझाएका छन् ।
उखु किसानहरुले प्रत्येक बर्ष भदौ, आश्विन महिना भित्रमा उखुको मुल्य नेपाल सरकारले तोक्नु पर्ने, उखु किसानले उखु बिक्री गरेको १५, २० दिन भित्रमा भुक्तानी पाउने व्यवस्था मिलाइदिनु पर्ने, उखु किसान र चिनी उद्योगका मालिकहरु दुबैको फाइदा हुने गरि उन्नत जातिको उखुहरु लगाउनको लागि किसानहरुलाई उत्प्रेरित गर्ने कार्यक्रम ल्याउनु पर्ने माग राख्दै कृषि मन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
त्यसैगरी मन्त्री खनाललाई सुस्ता गाउँपालिकाले छुट्टै कार्यक्रम राखि स्वागत गरेको थियोे । मन्त्रीसँगै अनुगमनको क्रममा प्रदेश सभाका सांसद दिपेन्द्र कुमार अधिकारी, राष्ट्रिय सभा सदस्य रामलखन हरिजन, नेकपा जिल्ला कमिटी पश्चिम नवलपरासीका अध्यक्ष घनश्याम यादव र सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डे लगायतको सहभागिता रहेको थियो ।





सम्बन्धित
Loading...