नेपाल बैंक र अख्तियारको बदमासी, व्यक्तिको करोडौंका जग्गा अर्कैको नाममा पास


काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल बैंक लिमिटेडको मिलेमतोमा व्यक्तिको करोडौं रुपैयाँ पर्ने जग्गा अर्कैको नाममा नामसारी गरिदिएको पाइएको छ । सर्वोच्च अदालतमा दर्ता भएको मुद्दा विचाराधीन रहेकै अवस्थामा नेपाल बैंक र अख्तियारको मिलेमतोमा जग्गा अर्कै व्यक्तिको नाममा नामसारी भएको पाइएको हो ।




अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं धुम्बाराही–४ का मोहन सहनीले नेपाल बैंकमा कमसल जग्गा धितो राखी ऋण लिएको भनी १९ करोड रुपैयाँ बिगो माग गर्दै २०५८ सालमा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले १३ कात्तिक २०६२ मा १० करोड २३ लाख रुपैयाँ जरिमाना र बिगो २ करोड २३ लाख रुपैयाँ असुल गर्ने फैसला गरेको थियो ।
तर, सहनीले विशेष अदालतले तोकेको बिगो र जरिमाना तिर्न सकेनन् । अदालतको आदेशबमोजिम उनी तीन वर्षका लागि जेल चलान भए । सहनी जेलमै भएका बेला नेपाल बैंकले उनको नामको जग्गा अरूकै नाममा नामसारी ग¥यो । त्यसपछि सहनीले जग्गा फिर्ताको माग गर्दै विशेष अदालत, अख्तियार र नेपाल बैंकलाई विपक्षी बनाएर ४ फागुन २०६२ मा सर्वोच्च अदालतमा रिट दर्ता गरे । सो मुद्दा विचाराधीन रहेकै अवस्थामा नेपाल बैंक र अख्तियारको मिलेमतोमा सहनीको जग्गा अन्य व्यक्तिको नाममा नामसारी भएको हो ।  सो रिटमा सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले २२ कात्तिक २०७३ मा बिगो तिरेर जग्गा फुकुवा गर्न आदेश जारी ग¥यो ।

सर्वोच्च अदालतले बिगो तिरेर व्यक्तिको जायजेथा फुकुवा गर्न फैसला गरे पनि बैंकले २०६३ सालमै मोहन सहनीको जग्गा दुई जनाको नाममा लिलाम बढाबढ गरेर बिक्री गरेको पाइएको हो । जेलमा भएकै अवस्थामा अख्तियार र बैंकले ८ रोपनी ९ आना जग्गा धादिङ कटुन्जेका प्रमिना तामाङको नाममा नामसारी गरेको थियो । त्यस्तै, ७ रोपनीभन्दा बढी जग्गा कर्णराज थापाको नाममा नामसारी गरेको थियो ।
सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा मोहन सहनीको नामको बैंकमा रोक्का भएको जग्गा लिलाम सकार गर्ने व्यक्तिको नाममा नामसारी गर्न पत्रसमेत पठाएको थियो ।
१३ वर्षअघि सहनीले गोंगबु १ को कित्ता नम्बर १६० अन्तर्गत २ रोपनी १३ आना, ३१२ कित्ता नम्बरअन्तर्गत ३ रोपनी ७ आना ३ पैसा जग्गा, गोंगबु १ को कित्ता नम्बर ४०७ अन्तर्गत २ रोपनी ६ आना, गोंगबु १ को कित्ता नम्बर ५७४ अन्तर्गत २ रोपनी ४ आना र गोंगबु २ कित्ता नम्बर ११३ अन्तर्गत ३ रोपनी ५ आना २ पैसा र सोही ठाउँको कित्ता नम्बर ११६ अन्तर्गत २ रोपनी २ आना गरी कुल जम्मा २५ रोपनी ११ पैसा १ दाम जग्गा धितो राखेर १९ करोड रुपैयाँ ऋण निकालेका थिए । तर, सहनीलाई नेपाल बैंक लिमिटेडले कमसल धितोको जग्गा राखेर ऋण निकालेको भन्दै उनलाई भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।




करोडौं मूल्यको जग्गा मोहन सहनीको नामको काठमाडौ गोंगबु स्थित कुल १५ रोपनी ४ अना २ पैसा जग्गाको सरकारी मूल्यांकन १ करोड ३२ लाख ४६ हजार ८७२ रुपैयाँ पर्ने जग्गा मालपोत कार्यालयले ६७ लाख ८२ हजार ४५० रुपैयाँमा कर्णराज थापाको नाममा नामसारी गरिदिएको थियो । मालपोत कार्यालयले सरकारी मूल्यांकन घटाएर नामसारी गर्न नसकिने भन्दै नेपाल बैंकलाई पत्र पठाएको थियो ।
१८ साउन २०६२ मा मालपोत कार्यालयले १ करोडभन्दा बढी रकम पर्ने जग्गालाई कम मूल्यमा नामसारी गर्न नसकिने भनी नेपाल बैंकलाई पत्र पठाएपछि पुनः बैंकले ६७ लाख ८२ हजार ४२० रुपैयाँभन्दा बढी रुपैयाँको १ प्रतिशत मात्र राजस्व लिई मालपोत कार्यालयलाई पत्र पठाएपछि नामसारी भएको थियो ।
सहनीले जग्गा धितोमा राखेर १९ करोड रुपैयाँँ बैंकबाट लिएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा १९ करोड रुपैयाँ बिगो दाबी गरेर भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । जग्गाको कमसल धितो र अधिक मूल्यको अभियोग लगाई सहनीलाई १५ वटा कम्पनीबाट हानी नोक्सानी भएको भन्दै भ्रष्टाचार मुद्दा दर्ता गरिएको थियो ।




सम्बन्धित
Loading...