पार्टीको गतिविधि प्रति असन्तुष्टि जनाउँदै नेविसंघ अध्यक्ष नैनसिंहको राजिनामा


२८ माघ, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका अध्यक्ष नैनसिंह महरले पार्टीको गतिविधि प्रति असन्तुष्टि जनाउँदै आफ्नो पदबाट राजीनामा दिए पछि अहिले पार्टीको वैठक बस्दै छ ।
उनले सोमबार पार्टी अध्यक्ष शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् । उनले राजिनामा बुझाउनु अघि पार्टीले अर्काे निर्णय नभइन्जेलसम्म यसैलाई निरन्तरता दिने भने पनि कुनै निर्णय नगरको र खाली पदमा मात्र बसिराख्न उपयुक्त नहुने भन्दै राजिनामा दिएका बताएका छन् ।
सानेपास्थित कार्यालयमा नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । बैठकमा नेविसंघकैबारे छलफल हुने नेताहरुले बताएका छन् ।
नेविसंघको १२ औं महाधिवेशन निर्धारित समयमा सम्पन्न गराउन नसकेपछि महर नेतृत्वको कार्यसमिति आलोचित बन्दै आएको थियो ।
यस अघि गत २७ पुसमै महामन्त्री सरोज थापासहितका ७ पदाधिकारीहरुले राजीनामा दिएका थिए ।
११ औं महाधिवेशनबाट निर्वाचित महर नेतृत्वको नेविसंघको कार्यसमितिको म्याद भदौ २ गतेसम्म थियो । तर, आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि पार्टीले तीन महिनाको समय अवधि थपिदिएको थियो ।
थपिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि पुनः दुई महिनाको म्याद थपिएको थियो । महाधिवेशन गर्ने सर्तमा पछिल्लो पटक थपिएको दुई महिनाको म्याद माघ २ गते सकिएको छ ।
पाँच महिनाको म्याद थपिएपछि नेविसंघ अध्यक्ष नैनसिंह महरले गत पुस २८ गते महाधिवेशन उदघाटन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका थिए । तर, पुस २८ गते पनि महाधिवेशन सुरु हुन नसक्ने भएपछि नेविसंघको वर्तमान कार्यसमिति संकटमा परेको थियो ।







सम्बन्धित
Loading...