सोमबारदेखि फेरि वर्षा र हिमपात दोहोरिने


काठमाडौँ । पश्चिमी वायुको प्रभावले आइतबार देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्ह्पछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।




आइतबार मौसममा केही सुधार भई घाम लागे पनि भोली सोमबारबाट देशभरीकै मौसम पुनः प्रभावित भई झरी पर्ने मौसमविद् मञ्जु बासीले बताइन् । उनका अनुसार पश्चिमी वायुको नयाँ प्रणाली सोमबार बिहानबाट भित्रिँदैछ । यसले गर्दा देशका अधिकांश भू–भागमा मध्यमदेखि हल्का वर्षा र हिमपातको गतिविधि पुनःदोहोरिने मौसमविद् बासीले बताइन्।

राति देशभर मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै भोलि सोमबार पश्चिमी भूभागलगायत पूर्वी तथा पहाडी क्षेत्रमा आंशिक बदली रही देशको पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा र पूर्वी पहाडी भेगका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


मङ्गलबार देशको पश्चिमी भेगमा सामान्य बदली रही पश्चिमी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । महाशाखाको पछिल्लौ विवरणअनुसार आइतबार काठमाडौँका अधिकत तापक्रम २० दशमलव ३ डिग्री र न्यूनतम तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै जुम्लाको तापक्रम माइनस एकमा झरेको छ । सबैभन्दा बढी विराटनगरको न्यूनतम तापक्रम २७ डिग्री सेल्सियस रहेको छ । – रासस




सम्बन्धित
Loading...