भ्रष्टचारी सरकारको भण्डाफोर र सीमा अतिक्रमणको विरुद्ध जागरण जगाउन शुरु भयो क्रान्तिकारी माओवादीको मेची महाकाली अभियान





भ्रष्टचारी सरकारको भण्डाफोर र सीमा अतिक्रमणको विरुद्ध जागरण ल्याउन क्रान्तिकारी माओवादीको देशभक्त जनगणतान्त्रिक मोर्चाले मेची महाकाली अभियान शुरु भएको छ ।
अभियानको मंगलबार देशका चार स्थानबाट एकै साथ उद्घाटन गरी शुरु गरिएको हो ।
पूर्वमा झापाको काकडभित्ता, पश्चिममा कञ्चनपुरको गड्डाचौकी, राजधानी काठमाडौं र प्रदेश ४ को राजधानी पोखराबाट एकै साथ शुरु गरिएको हो । अभियान चितवनमा आएर समापन हुने छ ।
अभियानको दोस्रो दिन बुधबार सुदुरपूर्व र सदूरपश्चिमको टोलीले भारतले अतिक्रमण गरेको क्षेत्रको सीमाको निरीक्षण, कोणसभा र सीमा क्षेत्रका जनतासँग सीमा अतिक्रमण तथा राष्ट्रियताको सवालमा अन्तक्र्रिया गर्नेछ ।

पोखरामा बेलुन उडाएर अभियानको उद्घाटन




देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले मंगलबारबाट शुरु गरेको अभियानको पोखरामा नारा जुलुससहित बेलुन उडाएर भव्य रुपमा मेची–महाकाली अभियानको उद्घाटन गरिएको छ ।
अभियानको उद्घाटन मोर्चाका केन्द्रीय सचिवालय सदस्य तथा ४ नं. प्रदेश संयोजक केशबहादुर परियारले गरेका हुन् ।
नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटव्यूरो सदस्य तथा मोर्चाका प्रदेश चार संयोजक परियारले अभियानको उद्घाटन गर्दै वर्तमान सरकार मत्ताहात्ती जस्तै भएको उदाहरण बताउँदै जसरी मत्ता हात्ती बस्तीमा छिरेर विनास गर्दछ, त्यसरी नै वर्तमान सरकार नेपाली जनता र देशको विनासमा अग्रसर रहेको बताए ।


उनले नेपाली युवाहरुलाई विदेश पठाउने र रेमिट्यान्सबाट देश चलाउने सोंचले मुलुकमा राष्ट्रियता झन धरापमा परेको बताए । उनले त्यसको सट्टा स्वदेशमै युवाहरुलाई अवसर सिर्जना गर्नु पर्नेमा जोड दिए ।
परियारले उखान र टुक्काले देश नचल्ने बताउँदै वर्तमान सरकारले सबैभन्दा बढी भ्रष्टाचार गरेको दावी समेत गरे । उनले भने – यो सरकार भ्रष्टचारको दलदलमा चुर्लम्म डुबेको छ, यस्तालाई जनताले नै कारवाही गर्नुको विकल्प छैन ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य अशोक लम्सालले दलाल पुँजीको आडमा टिकेको वर्तमान सरकारलाई जनताले सडकबाटै ढाल्ने चेतावनी दिए ।


कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं धौलागिरी इन्चार्ज हिरा बहादुर थापा, क्रान्तिकारी युवा लिगका प्रदेश प्रमुख एवं केन्द्रीय सदस्य उत्तम थापा मगर, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सदस्य भिम बहादुर श्रीस, देजमो नेपालका केन्द्रीय सदस्य सुशिला थापा लगायतले अभियानका बारेमा बोलेका थिए ।


कार्यक्रममा संगम साँस्कृतिक मञ्च नेपालका कलाकारहरुले प्रस्तुत गरेका क्रान्तिकारी गीत र नृत्यले अभियान सामारोहलाई थप उर्जा प्रदान गरेको थियो ।

काठमाडौंमा भव्य सांस्कृतिक कार्यक्रम सहित अभियानको उद्घाटन

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले थालको मेची–महाकाली अभियानको काठमाडौंमा सामना सांस्कृतिक परिवारका कलाकारहरुको भव्य सांस्कृतिक कार्यक्रम सहित उद्घाटन गरिएको छ ।
कार्यक्रममा सामना साँस्कृतिक परिवारका कलाकारहरुले प्रस्तुत गरेका क्रान्तिकारी गीत र नृत्यले अभियान सामारोहलाई भव्य र सान्दार बनाएको थियो ।
नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले उद्घाटन गर्ने भनिएको काठमाडौंको कार्यक्रम उनको अस्वस्थताका कारण कार्यक्रममा उपस्थित हुन नसकेपछि पार्टी पोलिटव्युरो सदस्य तथा ३ नं. प्रदेशका सचिव दिनेश शर्माले गरेका थिए ।


समारोहलाई शर्मा, मोर्चाका सचिवालय सदस्य तथा ३ नंं. प्रदेश संयोजक पवनमान श्रेष्ठ, मोर्चाका सचिवालय सदस्य कान्छाराम तामाङले सम्बोधन गरेका थिए । मोर्चाका केन्द्रिय सदस्य भरत बुर्जा मगरको अध्यक्षता काठमाडौंको उद्घाटन कार्यक्रम भएको थियो ।
उक्त समारोहमा विप्लव नेकपा परित्याग गरी तमु मोर्चाका केन्द्रिय सदस्य धिरज गुरुङ र इन्दुमाया लिम्बु देशभक्त जनगणतान्त्रिक मोर्चामा प्रवेश गरेका थिए ।

पूर्वमा गजुरेलले गरे अभियानको उद्घाटन

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले शुरु गरेको मेची महाकाली जनजागरण अयिभानको पूर्वमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले उद्घाटन गरेका छन् ।
अध्यक्ष गजुरेलले मैनबत्ती बालेर अभियानको उद्घाटन गरेका थिए । अभियान फागुन २१ चितवनमा आएर समापन हुने छ ।

अभियान उद्घाटन समारोहमा नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य प्रतिक, पार्टी केन्द्रिय सदस्यहरु मिनकुमार, रत्न, मनोज, उदय, मोहन, डिल्ली, गणेश तथा मोर्चाका केन्द्रिय सदस्यहरु, पार्टीका जिल्ला सचिवहरु लगायतको सहभागिता रहेको थियो ।
देजमोका केन्द्रीय सचिवालय सदस्य तथा १ नं. प्रदेशका संयोजक नगेन्द्र राईको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो ।
काँकभिट्टाको अभियान उद्घाटन समारोहको समापन लगत्तै अभियान टोलीले झापाकै विर्तामोडमा कोणसभा पनि गरेको छ । मोर्चाका केन्द्रिय सदस्य तिमिल्सिनाले सञ्चालन गरेको कोणसभालाई नेताहरु मिनकुमार राउत र मोहन लिम्बूले सम्बोधन गरेका थिए ।

पश्चिमको कञ्चनपुरबाट अभियानको उद्घाटन

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको आयोजनामा ७ देखि शुरु भई २१ गते सकिने अभियानको पश्चिममा कञ्चनपुरबाट उद्घाटन भएको छ ।
पश्चिममा कञ्चनपुरको गड्डा चौकीबाट अभियानको उद्घाटन भएको हो अभियानको मोर्चाका केन्द्रीय सचिव परि थापाले गरेका थिए ।
अभियानको उद्घाटन गर्दै परि थापाले देशमा दलाली करण र भ्रष्टचार मौलाएको भन्दै त्यसको विरुद्ध सम्पूर्ण जनता एक हुनु पर्नेमा जोड दिए ।
त्यसैगरी उनले राष्ट्रवादी भन्न रुचाउनेहरुबाट नै देशप्रति घात भएको टिप्पणी गरे । नेता परि थापाले भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गर्दा पनि सरकारमा रहेकाहरु बोल्न नसक्नु निक्कै दुख लाग्दो भएको बताए ।


अभियान उद्घाटन समारोहमा नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य राजवीर, पोलिटव्यूरो सदस्य अटल, मोर्चाका केन्द्रीय सचिवालय सदस्य तथा ५ नंं प्रदेशका संयोजक केवी गुरुङ, मोर्चाका सचिवालय सदस्य तथा ७ नं. प्रदेशका संयोजक रामबहादुर केसी, पार्टी केन्द्रिय सदस्यहरु चिन्तनराज, क्षितिज लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
रामबहादुर केसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मोर्चाका केन्द्रीय सचिवालय सदस्य दिपक शाहीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

 




सम्बन्धित
Loading...