कम्युनिस्ट आन्दोलनका अगुवा श्रेष्ठको निधन

202




काठमाडौं । नेपाल कम्युनिस्ट आन्दोलनका अगुवा कृष्णदास श्रेष्ठको शनिबार ८७ वर्षको उमेरमा निधन भएको छ ।
दिउँसो आफ्नै निवास शङ्खमूलमा उनको निधन भएको हितैसी एवं वाम आन्दोलनका अगुवा सोनाम साथीले जानकारी दिए ।
स्वास्थ्यमा समस्या देखिएपछि १८ माघमा उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सामान्य सुधार आएको भन्दै श्रेष्ठलाई केही दिन पहिले निवासमा फिर्ता ल्याइएको थियो ।

उनले  ‘कम्युनिस्ट घोषणापत्र’, ‘सोभियत सङ्घको कम्युनिस्ट पार्टीको इतिहास’, ‘सम्पत्तिको विकास’, ‘माओ त्से तुङका चुनिएका रचना (भाग–१)’, ‘लेनिनवादका आधार’, ‘मार्क्सवाद र जातीय सवाल’लगायत मार्क्सवादी पुस्तकको अनुवाद गरेका छन् । दर्जनौँ मौलिक मार्क्सवादी कृति र दर्जनौँ अनुदित मार्क्सवादी दर्शन साहित्य रचना गरेका श्रेष्ठको ‘कार्ल मार्क्सः  व्यक्तित्व र कृतित्व’, ‘ऐतिहासिक भौतिकवाद’ ,‘अतिरिक्त मूल्यको सिद्धान्त’, ‘मार्क्सवाद चिनारी पुस्तकमाला’ जस्ता मार्क्सवादी दर्शनका विभिन्न घटकबारे लेखिएका दर्जनौं कृति छन् ।
श्रेष्ठ नेपाली कम्युनिस्ट आन्दोलनको पहिलो पुस्ताका नेताका नेता हुन् । श्रेष्ठका श्रीमती, एक छोरा र तीन छोरी हुनुहुन्छ ।




श्रेष्ठको पार्थिव शरीरमा नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ’किरण’, रामबहादुर थापा बादल, झलनाथ खनाल, देव गुरुङ, सोनाम साथी, पम्फा भुसाल लगायतले श्रद्धाञ्जली प्रकट गरेका थिए ।

श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीको लागि नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को पार्टी कार्यालय बुद्धनगर लगिएको थियो । श्रेष्ठ पछिल्लोसमय उक्त पार्टीको सल्लाहकार थिए । पार्टीले एक शोक विज्ञप्ति प्रकाशित गर्दै श्रेष्ठको निधनले जनवादी तथा कम्युनिष्ट आन्दोलनलाई गम्भीर क्षति पुगेको उल्लेख छ ।

श्रेष्ठको शनिबार नै आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।

यसैबीच नेपाली कम्युनिष्ट आन्दोलनका एक वरिष्ठ नेता, अग्रज तथा अभिभावक कृष्णदास श्रेष्ठको ८७ वर्षको उमेरमा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले हार्दिक श्रद्धासुमन व्यक्त गरेको छ ।
क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’द्वारा जारी गरिएको शोक वक्तव्यमा उनको निधनले हाम्रो पार्टीलाई स्तब्ध तुल्याएको, नेपालको जनवादी तथा कम्युनिस्ट आन्दोलनमा गम्भीर क्षति हुन पुगेको जनाएको छ ।
उनी क्रान्तिकारी माओवादी पार्टीका सल्लाहकार समेत थिए ।
श्रेष्ठको जन्म बि.सं. १९८८ मा भएको थियो ।



सम्बन्धित
Loading...
error: Content is protected !!