महिला क्रिकेटमा नेपालकाे लगातार तेस्राे जित: नेपालद्वारा हङकङ पराजित


काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) महिला विश्वकप क्रिकेट प्रतियोगताको एशिया छनोटअन्तर्गत आइतबार भएको चौथो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ ।




थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा भएको लिग चरणको खेलमा हङकङले दिएको ६३ रनको सामान्य लक्ष्यलाई नेपालले १८ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर पूरा ग-यो ।

नेपालका लागि अप्सरा बेगमले सर्वाधिक २४ रनको योगदान दिइन् भने सीता रानामगरले १६ रन जोड्दा अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् । बलिङतर्फ हङकङकी जसमिनी टिटमुसले तीन विकेट लिँदा सान तो, मारिको हिल र क्यारी चानले एक एक विकेट झारे ।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङ निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ६२ रनमा समेटिएको थियो । हङकङका लागि मरीना लाम्पलोले सर्वाधिक १९ रन जोडिन् भने यास्मिन दसवानीले १६ तथा बेला पुनले ११ रन जोडे ।

हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालकी नेरी थापा एक्लैले ६ विकेट लिइन् भने सरिता रानामगरले २ विकेट झारिन् । जितसँगै नेपालले ६ अङ्क जोडेको छ ।

जारी प्रतियोगितामा नेपाललको यो तेस्रो जीत हो । यसअघि नेपालले मलेशियालाई ३४ रनले हराएको थियो भने संयुक्त अरब इमिरेटस (युएई) लाई ७ विकेटले पराजित गरेको थियो ।

नेपाल थाइल्याण्डसँग भने ५७ रनले पराजित भएको थियो । राउण्ड रोबिनका आधारमा हुने उक्त छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकप छनोट–२०१९ प्रतियोगितामा खेल्नेछ ।

एशिया छनोटमा नेपालसहित सात राष्ट्र प्रतिस्पर्धारत छन् । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङ सहभागी छन् । नेपालले लिग चरणको आफनो पाँचौँ खेल भोलि सोमबार चीनको सामना गर्नेछ ।




सम्बन्धित
Loading...