बम विस्फोट र एनसेल टावरमा आगजनीको जिम्मा विप्लवले लिए





काठमाडौं । मुलुकका विभिन्न २१ जिल्लामा टेलफोन सेवा प्रदायक कम्पनी एनसेलका टावरमाथि आगजनी र बम विस्फोटनको जिम्मा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ। ललितपुरको नक्खुमा रहेको एनसेल कार्यालयनिजक गरिएको विस्फोटमा परेर एकजनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थियो। नेकपाले आइतबार एक विज्ञप्ति जारी गर्दै एनसेलमाथि गरिएको आक्रमणको जिम्मा लिएको थाहा खबरले जनाएको छ ।
उसले एनसेलले ७३ अर्ब रुपैयाँभन्दा बढी कर छलेको, अदालतले गरेका निर्णय पालना नगरेको, नेपालमा प्राप्त आम्दानी नेपालमा नै लगानी नगरी विदेशमा लगेकोलगायतका गम्भीर गल्ती गरेकोले उसकै भाषामा कारबाही गरिएको जनाएको छ।
नेकपाले ललितपुरमा एक जनाको ज्यान गएको घटनालाई भने दुःखद् भन्दै व्यक्ति वा सर्वसाधारणप्रति कुनै लक्षित वा मानवीय क्षति गर्ने योजना नरहेकोसमेत जनाएको छ। फागुन १० गते राति एनसेलको मुख्यालय नख्खुमा बम विस्फोट हुँदा गम्भीर घाइते भएका सिमप्रसाद गुरुङको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए। शुक्रबार नै नेकपाका कार्यकर्ताले काभ्रे, रौतहट, कञ्चनपुर लगायत २१ जिल्लामा एनसेलका टावरमाथि आक्रमण गरिएको थियो।

त्यस्तै बीबीसीका अनुसार पनि ललितपुरको नख्खुमा शुक्रवार साँझ एक सर्वसाधारणको ज्यान जाने गरी गराइएको विस्फोटको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले जिम्मेवारी लिएको छ।




सो पार्टीका मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज तथा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीले बीबीसी नेपालीसँग आइतवार साँझ कुरा गर्दै त्यसको पुष्टि गरे।

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कार्यालय अगाडि गराइएको विस्फोटमा सर्वसाधारणको ज्यान गएकोमा आफूहरूलाई ‘दुःख लागेको’ उनले बताए। विस्फोटमा आफूहरूले सर्वसाधारणलाई चाहिँ ‘निशाना नबनाएको’ ओलीको भनाइ छ।

एनसेलले तिर्न बाँकी रहेको पूँजीगत लाभकरतर्फ इङ्गित गर्दै उनले ‘लुटको प्रतिकारस्वरुप’ सो कदम चालिएको तर्क गरे।

नख्खु विस्फोटमा विप्लव समूहको संलग्नता देखियो : गृहमन्त्री

 

गृहमन्त्री रामबहादुर थापा बादलले एक जनाको ज्यान जाने गरी भएको नख्खु बम विस्फोटमा विप्लव समूहको संलग्नता देखिएको बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित गृहमन्त्री बादलले समानन्तर सत्ताको अभ्यास गर्ने क्रममा विप्लव समूहले घटना घटाएको दाबी गरे ।

उनका अनुसार २१ वटा जिम्मामा एनसेलको टावरमा आगजनीको प्रयास भएको छ । प्रदेश १ बाहेक सबै प्रदेशमा आगजनीको घटना भएको र यो विप्लव समूहको केन्द्रीय योजनाअनुसार नै भएको पाइएको गृहमन्त्रीले बताए ।

विप्लव समूहको योजना समानान्तर सरकार चलाउने भएको तर, अहिले लगानी सम्मेलनलाई लक्षित गरेको उनले बताए । उनले विगतमा कतिपय अवस्थामा उन्मुत्ति दिँदा संविधान विरोधी तत्वहरु हौसिएको उनको विश्लेषण छ ।

गृहमन्त्री बादलले शान्ति सुरक्षा सुदृढ गर्न ठोस कार्ययोजना बनाउने प्रतिवद्धता समेत जनाएका छन् ।




सम्बन्धित
Loading...