निर्मला हत्या प्रकरणमा एसपी विष्टसहित ८ प्रहरीविरुद्ध मुद्दा दायर





कञ्चनपुर । निर्मला पन्त हत्या प्रकरणमा तत्कालीन कञ्चनपुर प्रहरीका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध जिल्ला अदालतमा अदालतमा मुद्दा दायर भएको छ ।
उनीहरुलाई निर्मला पन्त हत्या प्रकरणमा पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।
निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टले दिएको जाहेरीका आधारमा जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर भएको हो ।
यातना दिएको अभियोगमा एसपी विष्टसहित तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका डिएसपी अंगुर जिसी र इन्सपेक्टर एकेन्द्र खड्काविरुद्ध मुद्दा दायर गरिएको छ । यस्तै प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक जगदिश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीका अनुसार डिएसपी ज्ञानबहादुर सेठीसहित ६ जना प्रहरीलाई पक्राउ गरी बुधबार जिल्ला अदालत कञ्चनपुर उपस्थित गराइएको थियो । उनीहरु सबै कञ्चनपुर प्रहरीको हिरासतमा छन् ।
सरकारले तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदिश भट्टलाई सेवाबाटै बर्खास्त गरिसकेको छ भने अन्य ६ जना प्रहरी कर्मचारी निलम्बनमा छन् ।
१० साउनमा साथी रोशनी बमको घरमा गएकी १३ वर्षीया निर्मलाको बलात्कार गरी हत्या गरेको अवस्थामा भोलिपल्ट विहान उखुबारीमा शव भेटिएको थियो ।




सम्बन्धित
Loading...