विमानस्थलबाट ५ किलो ८ सय १४ ग्राम अवैध सुनसहित चार भारतीय पक्राउ
काठमाडौँ — थाईल्यान्डबाट काठमाडौं विमानस्थल ओर्लेका चार भारतीय नागरिकबाट प्रहरीले अवैध सुन बरामद गरेको छ । बबिता गर्ग, सरिता जैन, जपिन जैत र सुनिताको साथबाट ५ किलो ८ सय १४ ग्राम सुन जफत गरेको विमानस्थल प्रहरीले जनायो ।
विमानस्थल प्रहरी एसएसपी सन्दिप भण्डारीले सुन बरामद भएको पुस्टी गरे । पक्राउ परेकाहरु थाइ लाइन एयरको विमानमार्फत बैंकक हुँदै काठमाडौं आएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सन्दिप भण्डारीले बताए ।
उनका अनुसार बरामद सुन गहनाको रुपमा ल्याइएको थियो । ‘हामीले सुन सक्कली हो या होइन भन्ने जाँच्नलाई पठाएका छौं’, भण्डारीले भने, ‘जाँच्न पठाएको मध्ये ४ सय ९७ दशमलब ६५ ग्राम सुन सक्कली भएको देखिएको छ । अन्य परीक्षण हुँदैछ ।’
उनले परीक्षणपछि मात्रै थप प्रष्ट हुने बताए । जलप लगाएर गरगहनाको रुपमा सुन ल्याइएकाले परीक्षणपछि मात्रै यकिन हुने उनको भनाइ छ ।