रुघाखोकी लागेको बच्चाको उपचारका क्रममा मृत्यु भएपछि चितवन मेडिकल कलेज तोडफोड


उपचारका क्रममा ९ महिनाको बालकको मृत्यु भएपछि चितवन मेडिकल कलेज तनाबग्रत बनेको छ । गोरखा गण्डकी गाँउपालिका ४ घरभई हाल चितवनको रत्ननगर १५ मा बस्दै आएका रुपेश घिमिरेका ९ महिनाका छोरा रुप्सन घिमिरेको उपचारका क्रममा मृत्यु भएपछि अस्पताल तनाबग्रस्त बनेको हो । मृतक बालकका आफन्तले अस्पताल तोडफोड गरेका छन् ।




तोडफोडबाट अस्पतालको गेटको सिसा फुटेको छ । तोडफोड पछि केहिबेर अस्पताल तनाबग्रस्त बनेको थियो । अस्पतालको सुरक्षाका लागि ठूलो संङख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

चैत ३० गते सामान्य रुघाखोकी लागेर उपचारका लागि अस्पताल ल्याएका बालकको शुक्रवार अपरान्ह ४ बजे अस्पतालले मृत घोषणा गरेको थियो ।


‘सुरुमा इमरजेन्सीमा भर्ना गरिएको बालकको वार्डमा भर्ना गरेपछि २ गते साँझ साढे ५ बजे इन्जेक्सन लगाइयो, मृतक बालकका बुबा रुपेशले भन्नुभयो’, सुरुमा एउटा नर्सले इन्जेक्सनका लागि तयार गरेको ठाँउमा ४५ मिनेटमा अर्की नर्स आएर औषधि राखेर इन्जेक्सन लगाइन त्यसपछि छोरा अचेत भयो ।’ यसअघि अस्पतालले बालकको ३ गते डिस्चार्ज गर्ने जानकारी दिएको उहाँले बताउनुभयो । उहाँले २ गतेदेखि अचेत भएको छोराको १० गतेसम्म बाँच्छ भनेर अस्पतालले आश्वासन दिएको बताउनुभयो । १० गतेपछि भने अस्पतालले बालक बाच्ने नबाच्ने भगवान भरोसा रहेको भन्ने प्रतिकृया दिएको दुखेसो पोख्नुभयो ।

उहाँले भन्नुभयो, ‘१३ गते रातको साढे १० बजे अस्पतालबाट फोन आयोः छोराको मृत शरिर बुझ्नु प¥यो, हस्ताक्षर गर्न आउनुहोस् भन्दै । मैले बिहानसम्म अस्पतालमै छोराको शव राख्न आग्रह गरेको थिए । तर विहान आउँदा छोराको शव छैन । रातारात गायब गराइयो ।’ उहाँले अस्पतालले आफ्नो अनुमति विना अस्पतालले रातारात छोराको शव गाएब गराएको आरोप लगाउनुभयो । बालकको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको अस्पतालले जनाएको छ ।

अस्पतालले १० गते बच्चाको मृत्यु नहुँदै उपचारको खर्च अस्पतालले ब्यहोछौ भनेर उपचारमा संलग्न चिकित्सक डाक्टर सन्तोष पाठकले आश्वासन दिएको रुपेशले बताउनुभयो । उहाँले अस्पतालसंग छोराको शव मागेको र उपचारमा लापरवाही गर्नेमाथि कारवाहीको माग राखेको प्रतिकृया दिनुभयो । बालकको उपचार डा. सन्तोष र डा.शान्ती रेग्मीको टिमले गरेको थियो ।

शनिवार अस्पताल प्रशासन र मृतक बालकका आफन्त बीच पटक–पटक बार्ता भएको थियो । बार्तामा विभिन्न दल निकट मजदुर संगठनका प्रतिनिधिहरु पनि सहभागी रहेका थिए । अस्पतालले उपचार खर्च व्यहोर्ने तर अन्य क्षतिपुर्ति नदिने अडान लिएपछि बार्ता निस्कर्षमा नपुगेको मजदुर नेता अनक मगरले जानकारी दिए ।

अस्पताल प्रशासनले भने मृतक बालकका आफन्तले १२ लाख माग गरेको तर आफूहरुले दिन नसक्ने बताएको प्रतिकृया दिएको छ । अस्पतालको लापरवाहीका विषयमा भने अस्पताल प्रशासनले केही प्रतिकृया दिएन ।




सम्बन्धित
Loading...