सखुवाप्रसौनीमा हात्ती आतंक, ४ घर भत्कायो, स्थानीय रातभर जाग्राम


१९ कात्तिक, वीरगञ्ज । जंगली हात्तीले पर्सामा ४ घर भत्काउनुको साथै किसानले लगाएको बाली नष्ट पारिदिएको छ ।




पर्सा राष्ट्रिय निकुञ्जबाट सोमबार राति सखुवाप्रसौनी गाउँपालिका–१ स्थित खजुरियाको बस्ती छिरेको हात्तीले त्यहाँका ४ घर तथा बालीनाली नष्ट गरेको हो ।

गाउँ पसेको उन्मत्त जंगली हात्तीले सखुवाप्रसौनी–१, खजुरियाका भरत साह, रामानन्द साह कानु, सुखी महतो उराव र औराहाका ईश्वर महतो थारुको घर भत्काइदिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । स्थानीयका अनुसार, हात्तीले खजुरीयास्थित किसानको झण्डै ६ विगाहा खेतमा लगाइएको धानबालीसमेत नष्ट पारिदिएको छ ।


घरमा राखिएको गँहुलगायतका अन्नबाली राति आएको हात्तीको बथानले नष्ट पारिदिएको महतो उरावले दुखेसो गरे । हात्तीको बथान गाउँपसेपछि आफूलगायत गाउँलेहरू रातभर जाग्राम बसेको उनले बताए ।

सखुवाप्रसौनी–१ का वडासदस्य पारस प्रसाद चौधरीले जंगली हात्तीले गाउँलेलाई दुःख दिएपछि राँको बालेर तथा थाल ठटाएर भगाएको बताए । ‘११ बजेतिर गाँउमा पसेको हात्तीले मेरै गाउँमा दुई र अर्कोमा २ वटा घर भत्काइदियो’, उनले भने, ‘घरमा राखेको धान, चामल, गहुँ पनि खाइदिएको छ । डरले रातभर सुत्न पाएका छैनौं ।’




सम्बन्धित
Loading...