दुइटा ट्रकमा राखेर ४९ गोरु भारततिर तस्करीको प्रयास


भारततर्फ तस्करी गर्न लागिएको ४९ गाइगोरुसहित दुई वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । झापाको सुरुङ्गाबाट भारततर्फ गोरु तस्करी हुन लागेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोड र सुरुङ्गाको टोलीले कन्काइ–३ तुलसीबारीबाट ना.५ख ५९४६ र ना६ख ३८४१ नम्बरको दुई वटा ट्रकलाई नियन्त्रणमा लिएको हो ।




ट्रकबाट ४९ गोरुको उद्धार गरिएको छ । ट्रक र चालकहरु बारा निजगढका वीरबहादुर थिङ र नवलपरासीका विजय चौधरीलाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट गोरुहरु नवलपरासीबाट सोही स्थान बस्ने प्रमोद यादवले कन्काई नगरपालिका– ३ वस्ने रमेश खरेललाई वुझाउने गरी पठाइएको खुल्न आएको प्रहरीको भनाइ छ ।




मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२७ मा पशुपन्छीसम्बन्धी कसुरको बारेमा उल्लेख छ । उक्त संहिताको दफा २८९ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्याउने नियतले कुनै काम गर्नु वा गराउनु हुँदैन । त्यस्तो काम कारबाहीबाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुने व्यवस्था गरेको छ । कसैले गाई वा गोरुलाई कुटी अङ्गभङ्ग पारेमा निजलाई छ महिनासम्म कैद र अन्य चोट पुर्याएमा पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।




सम्बन्धित
Loading...