आलम प्रकरण : राजपुर बमकाण्डका घाइतेले बिहारमा गराएका थिए उपचार


२० कात्तिक, रौतहट । २०६४ चैत्र २७ गते रौतहटको राजपुरस्थित शेख इद्रीसको गोठमा भएको बम विष्फोटमा घाइते भएकामध्ये तीन जनाको उपचार बिहारको सितामढीमा भएको खुलेको छ । घाइतेमध्येका एक गौरी शंकर रामले प्रहरीसँगको बयानमा आफूलाई जिंगडीयाका बद्री रामले बिहारको अस्पताल पुर्‍याएको बताएका छन् ।




रामका अनुसार, पहिलो संविधानसभा निर्वाचनको पूर्वसंध्यामा बम बनाउन लाग्दा भएको उक्त बिस्फोटमा २-३ जनाको मृत्यु र धेरै जना गम्भीर घाइते भएका थिए । बयानमा उनले भनेका छन्, ‘बेलुकी अन्दाजी ६.३० बजेको समयमा घटनास्थल राजपुर फरहदवा शेख इद्रीशको गाई बस्तु बाध्ने गोठघर अगाडि आइपुग्दा धेरै मानिसहरु थिए र सो सो गोठ घरभित्र १५-१६ जना मानिसहरु बसेको कुरा गोठघरको ढोका खुल्ला भएकाले देखेको हुँ ।”


रामले थप भनेका छन्, ‘अचानक बम विष्फोट भएको ठूलो धमाका आएको र सो बमको टुक्रा, छर्राहरुले मेरो कान, घाटी, छातीसमेतमा गम्भीर घाउ चोट लागी रगत बगेको, विष्फोटनमा परी २-३ जनाको मृत्यु भएको र धेरै जना मानिसहरु गम्भीर घाइते भइ जोडले रुँदै कराउँदै गरेको देखेको हुँ ।’

विष्फोटनमा घाइते भएपछि भाग्दै करिब सातसय मिटर टाढा पुगेर आफू बेहोस भएको रामले बताएका छन् । होस आउँदा आफूलाई सितामढीको सदर अस्पतालको बेडमा पाएको बताउँदै रामले भनेका छन्, ‘१५-२० दिन पछि होसमा आएर कसले अस्पताल ल्याएको भनेर मैले आमालाई सोधेको थिए । त्यो बेला मेरो पिसाब नली, नाक, मलद्धारमा पाइप र घाटी, छाती र अनुहारमा पट्टी बाँधिएको थियो । मलाई जिंगडीयाका बद्री रामले अस्पताल पुर्‍याएको कुरा आमाले बताउनुभयो ।’

बिहारको सो अस्पतालमा उपचारको क्रममा रहँदा राजपुरकै बम विष्फोटमा परी घाइते भएका नरेश राम र विकाउ रामको पनि सो अस्पतालमा उपचार भइरहेको उनले बताएका छन् ।

घाइते नरेश र विकाउ रामले पनि आफूहरु पनि सोही विष्फोटमा परी घाइते भएको कुरा उनीहरुले बताएको समेत बयानमा उल्लेख गरिएको छ । गौरी शंकर राम र सफि महम्द सो बेला बम विष्फोटमा परी जिवीत रहेका प्रत्यक्षदर्शी हुन ।




सम्बन्धित
Loading...