कालापानी क्षेत्रमा बढ्यो भारतीय सैन्य गतिविधि, हेलिकोप्टरबाट गस्ती





दार्चुला : भारतले सार्वजनिक गरेको नक्सामा कालापानी र लिपुलेकलाई  पारेको भन्दै नेपालमा विरोध भइरहँदा भारतले कालापानी क्षेत्रमा सैनिक गतिविधि बढाएको छ। सुरुमा नेपालबाट पाकिस्तानी आतंकारीको घुसपैठको शंका गरेर सीमा क्षेत्रमा सैनिक गतिविधि बढाएको भारतले पछिल्लो पटक सैनिक संख्या थप्ने, हतियार थप्ने र हवाइ गतिविधि बढाएको हो।

भारतीय सुरक्षा स्रोतका अनुसार सिमावर्ती बजार धारचुलामा पृतना स्तरको सैनिक क्याम्प राख्ने तयारी गरिएको छ। त्यसका लागि कुमाउ स्काउट राखिएको ठाउँमा क्याम्पहरू थप्ने काम भएको छ भने कुमाउको प्याराबटालियनमा पनि सैन्य संख्या बढाइएको छ। त्यसैगरी भारतीय सेनाले पिथौरागढको ठूलीगाढबाट धारचुलास्थित कुमाउ स्काउट बटालियनमा आर्टिलरी हतियार ५५५ हाउजर ५० थान थपेको छ भने यो क्षेत्र (धारचुलादेखि कालापानीसम्म) दैनिक गस्तीसमेत बढाएको छ।




भारतीय प्रहरीले नेपाली भूमिमै बन्दोबस्ती र हातहतियारसहित सेना खटाएको छ। भारतीय सेनाले यो क्षेत्रमा हवाइ गस्ती पनि बढाएको छ।  अन्य कुरा भारतीय सञ्चार माध्यमले पुष्टि गरेको नभए पनि पिथौरागढको नैनीसैनी विमानस्थलबाट १५ किलोमिटर हवाइ रेन्जमा भारतीय वायु सेनाका लडाकु विमानले उडान गरिरहेको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले अक्टुबर २३ (कार्तिक ६ गते) नै समाचार प्रकाशित गरेको थियो।  त्यसयता वायु सेनाका लडाकु विमानले यो क्षेत्रमा गस्ती नगरेको भए पनि नियमित सैनिक हेलिकोप्टरको उडान भने रोकिएको छैन।

पछिल्लो समय कार्तिक ५ गते भारतीय सेनाका लेफ्टिनेन्ट जरनल आइएस घुमानले कालापानी क्षेत्रको भ्रमणसमेत गरेका थिए।  सदरमुकाममा सीमित नेपाली सुरक्षा सीमावर्ती क्षेत्रमा भारतले सैनिक गतिविधि बढाइ रहँदा नेपालतिर भने उल्लेखनीय सुरक्षा गतिविधि हुन सकेको छैन। करिब चार हजार मिटरको उचाइमा तिंकरको छियालेकमा रहेको प्रहरी चौकी कात्तिक ५ गते तीन हजार मिटरको उचाइमा रहेको छाङरुमा सारिएको भने सो क्षेत्रमा १४ जना प्रहरी मात्रै राखिएको छ। सञ्चार अभाव हुँदा प्रहरीसँग पनि नियमित सम्पर्कसमेत हुने गरेको छैन। सञ्चार भएको बेला चौकीसँग सम्पर्क हुने गरेको र भारतीय थप सैनिक गतिविधि नदेखिएको जिल्ला प्रहरी कार्यालय निमित्त प्रमुख सुरेन्द्रप्रशाद जोशी बताउँछन्।

छाङरुको सिमावर्ती गाउँ गर्ब्याङदेखि दक्षिणतिर बुँदी र उत्तरतिर गुँजीसम्म एसएसबीले नियमित गस्ती गर्ने गरेको स्थानीय बताउँछन्। हिउँ पर्न थालेपछि छाङरु सारिएको प्रहरीचौकी बस्न लायक भएसम्म त्यही बस्ने र नभए व्याँस गाउँपालिका २ दुम्लिङ सर्ने गर्दछ। चौकीमा आवश्यक पर्ने बाहेकका हतियार दुम्लिङ सारिएको र प्रहरीलाई पछि सारिने निमित्त प्रमुख जोशी बताउँछन्। छियालेकमा प्रहरी जाँदा हेलिकोप्टरबाट लिफ्ट गरिएको थियो। उत्तरतिरबाट दक्षिण सर्दै आएको नेपाल प्रहरी मात्रै नभएर नेपाली सेना र सशस्त्र प्रहरी ५० हेडक्वाटर दार्चुला सदमरमुकाम सीमित छन्। छाङरु पुग्न नेपालतिर बाटो नै नभएकाले गस्ती नगरिएको सुरक्षा स्रोतले जानकारी गराएको छ। तर प्रहरीको हतियार भने नेपालकै बाटो भएर ल्याइएको जिल्ला प्रहरी निमित्त प्रमुख प्रहरी निरिक्ष जोशी बताउँछन्। ‘स्थानीयलाई भाडा दिएर हतियार सारिएको हो। कयौं ठाउँमा डोरी लगाएर बाटो बनाइएको थियो’, उनले भने।

साभार http://thahakhabar.com/news/83518




सम्बन्धित
Loading...