ad

परिवारले बुझ्न मानेन सुजिताको शव, प्रहरी भन्छ– घटनाको नजिक पुग्यौँ

219


–दिपेन्द्र अधिकारी
भरतपुर । राप्ती नपा वडा नं–३, प्रगतिनगरकी २३ वर्षीया सुजिता भण्डारीको शव पोस्ट मार्टम भएको ६ दिन पुगेको छ । तर, परिवारले अझै शव बुझेका छैनन् । शवको पोस्ट मार्टम र भिसेरासहितको रिपोर्ट आधिकारिकरुपमा आएपछिमात्रै शव बुझ्ने अडान परिवार र आफन्तको छ । शव त्रिवि शिक्षण अस्पताल काठमाडौँमै छ । पोस्ट मार्टम असार २२ गते भएको हो ।

‘चित्तबुझ्दो परीक्षण रिपोर्ट आएमा स्वीकार्न तयार छौँ, नत्र शव सडकमै राखेर आन्दोलन गर्न बाध्य हुन्छौँ’, पीडित पक्षका एक युवाले भने ।




यसअघि सार्वजनिक भएको पोस्ट मार्टम रिपोर्टमा भने सुजिताको मृत्यु चोटपटक, बलात्कारबाट नभएको उल्लेख छ । कुनै चीज खाएर मृत्यु भएको हो कि भनी राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा भिसेरा जाँचका लागि पठाइएको छ । रिपोर्ट आउन अझै केही दिन लाग्ने प्रहरीको भनाइ छ ।

चितवन प्रहरी प्रमुख एसपी ओम अधिकारीले सुजिता मृत्यु प्रकरणमा आफूहरु अनुसन्धानमा निष्कर्षको नजिक पुगेको बताएका छन् । पारिवारिक सदस्यहरुसँग पनि पछिल्लो समय भेटघाट भएको र प्रहरीले विभिन्न समूह बनाएर अनुसन्धान गरेकाले आफूहरु निष्कर्षको नजिक पुगेको एसपी अधिकारी बताउँछन् ।

अझै आएन भिसेरा रिपोर्ट

भरतपुर–६ की पार्वती भट्टराईको मृत्युको सम्बन्धमा पठाइएको भिसेरा परीक्षण रिपोर्ट अझै आएको छैन । पोस्ट मार्टम रिपोर्टमा भने उनको मृत्यु जलेर नै भएको उल्लेख छ ।

तर, परिवारले भिसेरासमेत परीक्षण माग गरेपछि नमुना पठाइएकोमा नआइपुगेको हो । ६७ वर्षीया पार्वती भट्टराईको जेठ १६ गते जलेर मृत्यु भएको थियो । जेठ २० गते भरतपुर अस्पतालमा शवपरीक्षण भएको हो । घरमा सासूआमाको काजकिरिया चलिरहेको समयमा पार्वतीको पनि मृत्यु भएको थियो ।

जेठ १७ गते दिउँसो शरीरमा आगो लागेपछि उनका श्रीमान्ले दियो जलाउने क्रममा आगोले टिपेर कपडामा सल्किएको प्रतिक्रिया दिए । परिवारका अन्य सदस्यको व्यवहार यातनापूर्ण रहनुले दिदीको आफैँ आगजनी नभई हत्या भएको हुन सक्ने भनी पीडित पक्षले जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका छन् ।

  • चितवन पोष्ट दैनिकबाट


You might also like
Loading...