ad

सौराहाको पर्यटनमा मासिक ३० करोड घाटा, खोप नलगाई होटल खोल्दैनौँ : व्यवसायी

52


रत्ननगर । कोरोना महामारीका कारण विगत साढे २ महिनादेखि सौराहा बन्द रहेको छ । सौराहाको पर्यटन बन्द हुँदा यहाँ मासिक ३० करोड रूपैयाँ घाटा भएको क्षेत्रीय होटल संघ सौराहाले जनाएको छ ।

पर्यटकका लागि सञ्चालन हुने होटल, रेस्टुरेन्ट,हात्ती सफारी, जिप सफारी, डुङ्गा सयरलगायत समग्र सौराहाको पर्यटनले मासिक ३० करोड घाटा व्यहोरेको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए ।



कोरोनाको पहिलो लहरमा २०७७ साल चैतदेखि २०७८ साल कार्तिक महिनासम्म आठ महिना सौराहाको पर्यटन बन्द हुँदा यहाँका व्यवसायीले २ अर्ब ४० करोड रूपैयाँ घाटा व्यहोर्न बाध्य भएका थिए । कार्तिकदेखि वैशाखसम्म सात महिना सौराहाको पर्यटन सञ्चालन भएको थियो । उक्त अवधिमा आन्तरिक पर्यटकका कारण सौराहाको पर्यटनले राहत महसुस गरेको थियो । सात महिनामा पलाएको आशा कोरोनाको दोस्रो लहर सुरू भएपछि निराशामा परिणत भएको छ ।

दोस्रो लहरपछि वैशाख १६ गतेदेखि सौराहाको पर्यटन बन्द छ । करिब साढे २ महिना सौराहाको पर्यटन बन्द हुँदा ६५ करोड घाटा भएको संघका अध्यक्ष भट्टराईले बताए । लामो समयसम्म पर्यटकीय नगरी सौराहा बन्द भएका कारण भर्खरै मात्र होटल सञ्चालन गरेका व्यवसायीहरु मारमा परेका छन् ।

सौराहामा विगत ५ वर्षयता ठूलो लगानीमा होटल सञ्चालन गरेका व्यवसायीहरुको संख्या उल्लेख्य रहेको छ । ‘होटल सञ्चालन गरेर आम्दानी गर्ने बेलामै होटल बन्द गरेर बस्नु परेको छ’,‘संघका अध्यक्ष भट्टराईले भने,‘त्यस्ता व्यवसायीहरु टाट पल्टिने अवस्था आयो ।’

सौराहाको पर्यटनमा ५ हजार ५०० कर्मचारीहरुले काम गर्छन् । सौराहाको पर्यटन बन्द हुँदाती कर्मचारीहरु बेरोजगार बनेका छन् । कोरोनाको प्रभावका कारण सौराहा खुल्यो भने पनि करिब ५० प्रतिशत कर्मचारीको रोजगारी गुम्ने अवस्था आएको छ । ‘विदेशी पर्यटक आउन सक्ने अवस्था अझै छैन’, उनले भने,‘आन्तरिक पर्यटक आउँदा पनि ५० प्रतिशत कर्मचारीले मात्र काम पाउनेछन् ।’

सरकारले पर्यटन क्षेत्र आंशिकरुपमा खुल्ला गर्ने निर्णय गरेको छ । एउटा होटलमा रहेका कुल रूम संख्यामध्ये३३ प्रतिशत रूममात्रै सञ्चालन गर्ने गरी पर्यटन खुल्ला गरेको हो । ‘३० वटा रूम भएका होटलहरुले १० वटा रूममात्रै सञ्चालन गर्न पाउने व्यवस्था गरियो’, संघका अध्यक्ष भट्टराईले भने,‘यस्तो अवस्थाले खर्च पनि धान्न सकिँदैन ।’

रेस्टुरेन्टको हकमा बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाउने गरी सरकारले खुल्ला गरेको छ । ‘कोरोनाको प्रभावले सौराहाका रेस्टुरेन्ट व्यवसायी विस्थापित हुने अवस्था आएको छ’, रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडालेभने, ‘सौराहाका रेस्टुरेन्ट रातमै चल्ने हो, समयावधि निर्धारणले थप समस्या पारेको छ ।’

सरकारले पर्यटकीय होटल आंशिक खुल्ला गर्ने निर्णय गरेको भए पनि सौराहाका व्यवसायीहरुले होटल तथा रेस्टुरेन्टमा काम गर्ने कर्मचारीलाई कोरोनाविरूद्धको खोप नलगाई सौराहा खुल्ला नगर्ने भएका छन् । कर्मचारी र पर्यटकको सुरक्षाका लागि पनि कोरोना खोप लगाउन आवश्यक रहेको व्यवसायीहरुले बताएका छन् । ‘एउटा होटलमा काम गर्ने कम्तीमा ४ जना कर्मचारीलाई खोप लगाइदिन हामीले प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका छौँ’, क्षेत्रीय होटल संघका अध्यक्ष भट्टराईले भने,‘खोप नलगाएसम्म हामी होटल खोल्दैनौँ ।’

कोरोना खोपसँगै सौराहाको पर्यटन सञ्चालन हुनका लागि चितवन निकुञ्ज र हात्ती सफारी खुला गर्न अनिवार्य हुन्छ । ‘निकुञ्ज र हात्ती सफारीसञ्चालन नभई सौराहाको पर्यटन चल्दैन’, संघका कोषाध्यक्ष माधव दुवाडीले भने’, अरु अङ्ग नखोली होटल र रेस्टुरेन्ट खोल्नु बेकार हो ।’सौराहामा करिब १३० वटा होटल र ८५ बढी रेस्टुरेन्ट रहेका छन् । कोरोना महामारी सुरू भएपछि बीचमा खुलेको सात महिनामा सौराहामा दैनिक ७०० स्वदेशी पर्यटक आएका थिए ।



You might also like
Loading...