ad

३० अर्बमा निर्माण भयो गौतमबुद्ध विमानस्थल

परीक्षण उडान सकिएपछि नियमित उडान

155


पारिलो घाममा सफा र हराभरा देखिने भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मान्छेहरूको ओहोरदोहोर बाक्लिदै गएको छ । सडकबाटै स्पष्ट देखिने ठूला र भब्य आकर्षक भवनले भैरहवा लुम्बिनी–तौलिहवा सडक खण्डमा हिँड्ने जो कोहीको पनि ध्यान खिच्ने गर्दछ । पैदल हिँड्दै गरेका हुन् वा निजी सवारी साधनमा सबैले त्यो बाटो हिँड्दा फोटो नखिची छाड्दैनन् । त्यहाँ कसैले फोटो खिच –खिच भनेर जबरजस्ती गर्दैन, तर मान्छेको मन हो नयाँ र आकर्षक ठाउँ देख्नासाथ हरेक मान्छे जो त्यो बाटो हिंडिरहेको छ त्यसको मनले भन्छ, ‘ए मान्छे एक पटक फोटो त खिच ।’

भैरहवा लुम्बिनी सडकमै जोडिएको निर्माणाधिन मुख्यद्वार नजिकैबाट विमानस्थलका भवनहरूको तस्वीर खिँच्दै गरेका मनोज क्षेत्रीले भने–‘भैरहवाबाट लुम्बिनी जाने आउने बेला यो एअरपोर्टको फोटो खिचिहाल्ने मन लाग्छ । म जति पटक यो बाटो ओहोरदोहोर गर्छु त्यति पटक कहिले क्यामेरामा त कहिले मोबाइलमा फोटो खिच्ने गरेको छु । मसँग धेरै फोटो, अलग अलग समयको छ ।’
मनोजले झै क्यामेराले फोटो नखिचे पनि उक्त सडकबाट ओहोरदोहोर गर्ने हरेक मानिसले मोबाइलले पनि ती भवनहरूको फोटो खिच्न लाइन नै लाग्ने गर्दछन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले भने–‘फोटो खिच्ने, भिडियो खिच्नेहरूको कारण काममा समेत डिस्ट्रब भयो ।’



निर्माणाधिन मूलद्वार नजिकै अनुमति लिएर मात्रै फोटो खिच्नुहोला भनि सूचना समेत राखिएको छ । यसरी सूचना नै टाग्नु पर्ने गरी फोटो तथा भिडियो खिच्ने कामलाई समेत नियन्त्रण गर्नुपर्ने अवस्थाले समेत विमानस्थल कति आकर्षक बन्दै होला भनि सबैले सहजै अनुमान लगाउन सक्छन् ।

परीक्षण उडानको तयारी

बहुप्रतिक्षित भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको लागि तयारीमा छ ।
आयोजना प्रमुख अधिकारीले भने–‘संरचनाको हिसाबले पूर्णरूपमा काम सकिसकेका छौं । विमानस्थलको बाह्य संरचना सकिसकेको छ, भित्र उपकरण चेकजाँचको काम मात्रै बाँकी छ । हामी क्यालिबेरेसन फ्लाइटको लागि तयारीमा छौं ।’ क्यालिबेरेशन फ्लाइट भनेको विमानस्थलको ग्राउन्ड र जहाज बीचको सूचना आदानप्रदान सही छ छैन भनि चेकजाँच गर्ने विशेष किसिमको विमान हो । ५÷७ सिटे उक्त विशेष जहाजले विमानस्थलमा उडान गर्ने छ । उडानको क्रममा एन्टिना, सिङ्गल रिसिभ, लाइटिङ्ग, कम्युनिकेशनलगायत सबै सूचना ठीक छ छैन भनि चेकजाँच हुने गर्दछ । क्यालिबेरेशन फ्लाइटमा सबै सिङ्गल र सूचना सही देखिएपछि मात्रै अन्य जहाजले उडान र अवतरण सुरु गर्ने गर्दछन् ।

गौतमबुद्ध विमानस्थलमा क्यालिबेरेसन फ्लाइटकोलागि एरो थाइसँग सम्झौता भएको छ । परीक्षण उडान कहिले गर्ने भन्ने विषय एरो थाइमा भर पर्ने छ । कोरोना महामारीको कारण परीक्षण उडान केही समय ढिलाई हुने देखिएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा मूलतः तीन तहका काम भएका छन् । पहिलो अन्तर्राष्ट्रिय बोलपत्र (आइसिबी वान) अन्तर्गत ६ अर्ब ८२ करोडको काम भएको छ । दोस्रो अन्तर्राष्ट्रिय बोलपत्र (आइसिबी टू) अन्तर्गत ५० करोडको काम र तेस्रो मुआब्जा वितरण २२ अर्ब ४० करोड भएको छ । त्यसका अतिरिक्त कार्गो निर्माणको लागि ९० करोडको काम भएको छ । यसरी सबै आयोजनाको काम जोड्दा ३० अर्बभन्दा बढीको लगानीमा भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भएको छ । यो रकममा नेपाल सरकारको ३७ दशमलब ४ र एडीबीको ६२ दशमलब ६ प्रतिशत लगानी रहेको छ ।

आइसीबी वान

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको धावनमार्ग र क्षमताले धान्न नसकेपछि सरकारले तत्काल वैकल्पिक विमानस्थलको रूपमा भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई स्तोरन्नति गरी अन्तर्राष्ट्रियस्तरको बनाउन सुरु गरेको हो । सन् २०१४ को डिसेम्बर ३१ तारिखमा कार्यदेश पाई त्यसै अनुरूप विमानस्थलको स्तरोन्नतिको कामको लागि सन् २०१७ को जनु २ तारिख अर्थात् २०७४ जेठ १९ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी आइसीबी वान टेन्डर आह्वान गरिएको थियो । मल्टिनेसनल रूपमा आह्वान गरिएको बोलपत्र अनुसार ५ चीनियाँ र २ स्पेनिस ठेकेदारहरूले बोलपत्र भरेको भएता पनि चीनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्ट्रक्सन ग्रुपले टेन्डर पारी आवश्यक सम्झौता गरी निर्माण कार्य गत ०७१ को माघ १ देिख सुरु गरेको हो । कुल ६ अर्ब २२ करोड ५१ लख ३० हजार २ सय २७ रुपैयाँ ९१ पैसा लागतमा निर्माण सम्पन्न गरी नर्थ वेस्टले ठेक्का पाएको हो । त्यसपछि पुनः विभिन्न समयमा ६ पटक म्याद थप भइ २ पटक कस्ट भेरियसन (मूल्य परिमार्जन) हुँदा कुल ९ दशमलब ६ प्रतिशतले वृद्धि भइ आजका दिनसम्म आइसिबी वान तर्फको आयोजनाको निर्माणको कुल लागत ६ अर्ब ८२ करोड पुगेको छ ।

आइसिबी वानअन्तर्गत धावनमार्ग ३ हजार मिटर, चार वटा लिंक ट््याक्सी वे (धावन मार्ग र जहाज पार्किङ क्षेत्र जोड्ने बाटो), ५ वटासम्म अन्तर्राष्ट्रिय जहाज पार्किङ गर्न सक्ने क्षमताको जहाज पार्किङ स्थल, टमिर्नल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नी नियन्त्रण भवन, पानी ट्याङ्की, तारबार, नाला, ५ सय कार अटाउने क्षमता भएको कार पार्किङ , विद्युतीय काम, टर्मिनल विल्डिङको उपकरणसहितको काम, धावन र ट््याक्सी वे सबै काम रहेका छन् ।

आइसिबी वानअन्तर्गत सुरुवातमा ठेक्का सम्झौता गर्नुभन्दा यतिबेला कस्ट भेरियसन हुँदा ६० करोड रकम वृद्धि भएको छ । कस्ट भेरियसनको मूल कारण जहाज उडान र अवतरणको लागि आवश्यक भिजिबिलीटिका थप काम भएको आयोजना प्रमुख अधिकारी बताउँछन् । अधिकारीका अनुसार सुरुवातमा क्याट वानअन्तर्गतको काम गर्ने गरी सम्झौता भएको थियो तर पछि काम गर्दै जाँदा क्याट टू को स्तरमा काम गर्ने गरी अगाडि बढ्ने भनिएकोले ०७५ मंसिरमा पहिलो भेरियसन गरी ६० करोड रकम थप गरिएको हो । क्याट वानमा भिजिबिलिटि ५५० मा उडान अवतरण हुने गर्दछ भने क्याट टू मा ३५० भिजिबिलीटिमा उडान र अवतरण हुने गर्दछ । क्याट टू को लागि आवश्यक पूर्वाधार धावनमार्गको सबै लाइटको प्रोजेक्ट र उपकरणको स्तरीयता वृद्धि गरिएकोले सुरुवाति लागतमा वृद्धि भएको आयोजना अधिकारीको तर्क छ ।

आइसीबी टू

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो अन्तर्राष्ट्रिय बोलपत्र (आइसिबी टू) मार्फत सन् २०१९ मार्चमा ५० करोड लागतमा एरोनोटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई) ले ठेक्का प्राप्त गरी ९ महिनाभित्र काम सम्पन्न गर्ने गरी काम अगाडि बढाएको हो । यो परियोजनामा २ पटक म्याद थप भई सकेको छ । ९० प्रतिशत उपकरणको काम रहेको उक्त परियोजनामा जहाजको उडान र अवतरणको लागि आवश्यक उपकरण जडान –आइएलएस), जहाजको स्थिति, लोकेशन, र सञ्चार (डिभिओआर÷डिएमई), सञ्चार उपकरण (भिएचएफ रेडियो), एचएफ सिस्टम, एटिसी कन्सोल, एमएचएस, भिसिसिएस, एटिस सिस्टम, अटोमेटिक वेदर अबजरभेसन सिस्टम गरी मुख्य १० किसिमका काम भएका छन् । आवश्यक सबै उपकरण अमेरिका, बेलायत, अस्ट्रेलिया, थाइल्यान्ड र अस्ट्रियाबाट ल्याइएको आइसिबी टू का परियोजना व्यवस्थापक प्रविन न्यौपानेले बताए । उनले भने–‘आवश्यक सबै उपकरण जडान भइसकेको छ । अब परीक्षणको काम बाँकी छ ।’

मुआब्जा र क्षेत्रफल

गौतबुद्ध विमानस्थलको लागि आवश्यक जग्गा अधिग्रहण गरेर मुआब्जा दिने काम पनि लगभग सकिसकेको छ । आयोजना प्रमुख अधिकारीका अनुसार अहिलेसम्म २२ अर्ब ४० करोड १४ लाख ७९ हजार ४ सय ३७ रुपैयाँ मुआब्जा स्वरूप वितरण गरिसकिएको छ । अधिकरण गरेको जग्गासहित गौतमबुद्ध विमानस्थलको स्वामित्वमा यतिबेला १० हजार ५ सय रोपनी जग्गा रहेको छ । यो क्षेत्रफलमा फैलिएको जग्गामा निर्मित आवश्यक भौतिक पूर्वाधारले आगामी ५० वर्षसम्म अन्तर्राष्ट्रिय स्तरको उडान र अवतरण थेग्ने क्षमता राख्नेछ ।

नयाँ थपिएको जग्गामा डिभिओआर÷डिएमई र सेनाको ब्यारेक निर्माण सम्पन्न भइसकेको छ । कार्गो भवनको निर्माण कार्य अन्तिम चरणमा छ । राडर, जहाज मर्मत क्षेत्र (हेंगर), आयल निगमको डिपो, हेलिप्याड, क्याटरिङ, अर्को पार्किङ् स्थल र अझै एउटा टर्मिनल बिल्डिङ् बनाउनु पर्ने आवश्यक छ । उक्त कामको लागि प्रस्ताव गरिएको छ ।

भैरहवामा रहेको गौतमबुद्ध विमानस्थललाई धेरैले भैरहवा एअरपोर्ट भनेर चिन्ने गर्दछन् । घरेलु विमानस्थलको रूपमा रहेको यो विमानस्थलको स्तरोन्नति गर्ने भन्दै औपाचारिक रूपमा २०७१ साल माघ १ गते बिहीबारका दिन तत्कालिन प्रधानमन्त्री शुसील कोइरालाले शिलान्यास गरेपछि एकाएक यो विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा परिचित हुन थालेको हो ।

अहिलेको गौतमबुद्ध बिमानस्थल विक्रम सम्बत २०११ सालतिर पूर्व प्रधानमन्त्री डा. के आइ सिंह र काशिप्रसाद श्रीवास्तवको पहलमा निर्माण भएको हो । सुरुताका भैरहवाको शान्तिनगरमा रहेको विमानस्थल २०२०/०२१ सालताका हालको ठाऊमा स्थानान्तरण भएको ईतिहासको जानकार बालकृष्ण भट्टराईले बताए । भैरहवा क्षेत्रमा ०२५ को दशकदेखी क्याम्पसमा अध्यापनरत भट्टराईका अनुसार तत्कालिन समय करिब १० विगाह क्षेत्रफलमा फैलिएको शान्तिनगरको विमानस्थलबाट भैरहवा पोखरा र भैरहवा काठमाडौं उडान हुने गर्दथ्यो ।

विमानस्थल परिसर कच्ची भएता पनि पक्लिहवामा रहेको बिट्रीस क्याम्पले बाहिरी बाटो भने पीच गरिदिएको थियो । पछि ०२१ सालतिर हालको ठाउँमा विमानस्थल स्थानान्तरण भएपछि त्यस ठाउँमा भैरहवा बहुमुखी क्याम्पस, संस्कृत विद्याश्रम र संघीय प्रहरी इकाइ लुम्बिनी कार्यालय स्थापना भएको हो । तत्कालिन समयमा शान्तिनगरमा विमानस्थल हुँदा भैरहवाबाट पोखरा निर्माण सामग्री लिएर जादैँ गरेको टकोटा विमान दुघर्टना भएको थियो । त्यो नेपालको ईतिहासमा पहिलो विमान दुर्घटना पनि हो ।

०२३ सालदेखि नियमित उडान भर्दै आएको भैरहवा स्थित गौतमबुद्ध विमानस्थलको स्वामित्वमा प्रायाप्त जग्गा छ । ०६१ साल अघिसम्म ८४ बिगाह ३ कठ्ठा रहेकोमा यतिबेला १० हजार ५ सय रोपनि पुगेको छ । जग्गाको क्षेत्रफलको हिसाबले नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको विमानस्थल हो । अहिलेसम्म पोखरामा ३ हजार ७ सय रोपनी, काठमाडौंमा ७ हजार रोपनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालन भइरहेका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्यन प्राधिकरण (आइकाउ)को कोड फोर ई का अनुसार ३ हजार मिटर धावनमार्ग भएको विमानस्थलमा बोईङ ७७७, एअबर बस ३३० सम्मका जहाजहरू सहजै उडान र अवतरण हुनेछन् ।

गौतबुद्ध विमानस्थल अन्तर्राष्ट्रियस्तरको बन्ने कार्य सुरु हुनुमा मुख्यतयाः बुद्ध जन्मस्थल लुम्बिनी भएको देखिन्छ । एडिबीको दक्षिण एशियाली पर्यटन पूर्वाधार विकास आयोजनाले विश्व पर्यटनको केन्द्र लुम्बिनीलाई मध्यनजर गरी भैरहवा विमानस्थलमा लगानी गर्ने आट गरेको हो ।

विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने कार्यमा सुरुवाति चरणमा एडिबीले ४० दशमलब ५ प्रतिशत, साउदी अरबको साउदी फन्डबाट (ओएफआइडी) ३० दशमलब ५ प्रतिशत, एडीबीको अनुदान १८ प्रतिशत र नेपाल सरकारको ११ प्रतिशत तथा कर समेत गरी लागत बेहोेर्ने गरी निर्माण कार्य सुरु भएको हो । काम सुरुवात गर्दा यो अनुपात भएता पनि पछिल्लो थप रकम गर्दा नेपाल सरकारको ३७ दशमलब ४ र बाँकी एडिबीको ऋण सहयोग हुन आएको हो ।

नेपालमा अहिले विमानस्थलको चर्चा धेरै हुन थालेको छ । कहिले निजगढ, कहिले भैरहवा त कहिले पोखरा विमानस्थलाई अन्तर्राष्ट्रिय बनाउने भन्ने घोषणा भइरहेका छन् । यसको अतिरिक्त लुम्बिनी प्रदेशमा मात्रै कुरा गर्ने हो भने प्युठानको चाल्नेटार र गुल्मीको सिमिचौरमा पनि घरेलु उडान भर्ने गरी विमानस्थल बनाउने प्रक्रिया सुरु भएको छ । नेपाल–भारत सीमा नजिक भएकोले गोरखपुर, लखनउसम्मका भारतीयहरूले पनि गौतमबुद्ध विमानस्थलाई सहज रूपमा प्रयोग गर्ने अपेक्षा पर्यटन व्यवसायी नेपाल एशोसियसन अफ ट्राभलस एण्ड टूर एजेन्टका लुम्बिनीका अध्यक्ष सागर अधिकारीले बताए ।

यसरी हेर्दा गौतमबुद्ध विमानस्थलका प्रयोगकर्ता भारतीय र नेपालीगरी कम्तिमा ३३ करोड बढी हुने देखिएको छ । भैरहवाको विमानस्थलमा अन्तर्राष्ट्रिय जहाज आउन थालेपछि यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने र खासगरिकन यहाँका पर्यटन क्षेत्र र पर्यटन व्यवसायी मात्रै नभएर सामन्य पान बेच्ने ब्यापारीदेखि ठूला ठूला पर्यटन व्यवसायी प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।



You might also like
Loading...