ad

नवलपुरमा जुवा नियन्त्रणमा प्रहरीको सक्रियता, ठूला जुवाडे समाउन प्रहरीलाई सकस

1,935

रामकुमार श्रेष्ठ –
नवलपुर, १३ साउन । पूर्वी नवलपरासीमा सोमबार र मंगलबार गरी २ दिनमा मात्रै नवलपुर प्रहरीले ३ ठाउँबाट १७ जनालाई तास खेलिरहेको अवस्थामा पक्राउ गर्यो । साथमा ५० हजार बढी नगद पनि ।


नवलपुरमा यो क्रमको शिलशिला चलेको झण्डै १ बर्ष भयो । जिल्ला प्रहरी कार्यालय नवलपुरमा नयाँ प्रहरी प्रमुख अर्थात प्रहरी उपरीक्षक प्रकाश मल्ल आए पछि उनले जुवा नियन्त्रण अभियान नै थाले ।



नवलुरमा आर्थिक बर्ष २०६७/७७ मा ८ वटा मात्र जुवा सम्बन्धी मुद्दा दर्ता गर्न सकेको नवलपुर प्रहरीले आर्थिक बर्ष २०७७÷८८ मा ५३ स्थानबाट जुवा खेलिरहेका मान्छेलाई पक्राउ गर्यो ।

त्यति मात्र होइन सोही अवधिमा जुवा खेलेको स्थानबाट ३ सय ९१ जनालाई पक्राउ गर्न सफल भएको थियो भने जुवाको खालबाट ३६ लाख ५१ हजार १ सय ४१ रुपैयाँ नेपाली रुपैयाँ, २ सय ६० दिराम र ४२ हजार ६ सय ५५ भारतीय रुपैयाँ समेत बरामद गर्न सफल भयो ।

ठूला जुवाडे समाउन प्रहरीलाई सकस

प्रहरीको सक्रियतामा भएको यो जुवा नियन्त्रण सम्बन्धी अभियानको स्थानीय स्तरबाट पनि प्रसंशा भएको छ तर, ठूला जुवाको खाल फेला पार्न नसक्नुले भने प्रहरीको लागि टाउको दुखाईको विषय भएको छ ।

नवलपुर, चितवन, धादिङ, गोर्खा लगायतका जिल्लाबाट दैनिक ५० लाख देखि १ करोडसम्मको जुवा (कौडा) खेल्न नवलपुरमा आउने गर्दछन् ।

 

स्रोतका अनुसार ति टोली अधिकांश समय नवलपुरमा खेल्ने गर्छन भने कहिलेकाँही चितवन, धादिङ्ग, गोर्खा पनि पुग्ने गर्छन् ।
धेरै समय खेलिने स्थान नवलपुर भएकोले नवलपुर प्रहरीलाई अहिले यो विषय टाउको दुखाईको विषय बनेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक प्रकाश मल्ल भन्छन् – ‘हामी दिन रात खटेका छौं । ठूलो रकमको जुवा खेल हुन्छ भन्ने हामीले पनि जानकारी पाएका छौं । प्रयास जारी छ एक दिन नियन्त्रणमा लिने छौं ।’

‘प्रहरीले त्यस्ता टोलीलाई नियन्त्रणमा लिन सादा पोशाकका प्रहरीलाई बढी मात्रामा परिचालन गरेको छ । बेलाबेलामा स्थानीयले पनि सूचना दिने गरेको छ ।’ प्रहरी उपरीक्षक मल्लले भने – ‘हामी पुग्दा नपुग्दै सूचना उनीहरु भागी सकेका समेत पाएका छौं ।’

कहाँबाट चुहिन्छ सूचना

 

ठूला रकममा तास, कौडा खेलिएको ठाउँबाट कहिले स्थानीयले त कहिले हारेर वा जितेर फर्किएका मानिसले प्रहरीलाई खबर गर्ने गर्दछन् । तर, पनि प्रहरी पुग्दा नपुक्दै सूचना चुहावट भएर प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन सकेको छैन ।

साना तथा मझौला खालका खेलहरुमा प्रहरीले जुवाडेहरुलाई नियन्त्रणमा लिन सफल भएको भए पनि ठूला ठूला खेलमा खेल्ने जुवाडेहरुलाई प्रहरीले नवलपुरमा नियन्त्रणमा लिन सकेको छैन ।

 

स्रोतका अनुसार कतिपय अवस्थामा जुवा खेलाउनेहरुले नै प्रहरी आउने बाटोमा पहरा दिएर जुवा खेल्ने स्थानको सुरक्षा दिएका हुन्छन् भने कतिपय अवस्थामा प्रहरीकै तल्लो निकायबाट प्रहरी आउँदै छ भन्ने सूचना चुहावट हुने गरेको स्रोतको दावी छ ।

सादा पोशाककै प्रहरीले जुवा खेलाउनेसँग हप्ता असुल्ने र उनीहरुलाई नै सुरक्षा दिने गरेको स्रोतको दावी छ तर, नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्ल भने आफ्नो सुरक्षा निकायबाट सूचना चुहावट भएको र रकम अर्थात हप्ता असुली गरेर उल्टै सुरक्षा दिएको विषय स्वीकार्न तयार छैनन् ।

मल्लले भने – प्रहरीले पैसा असुलेको, पक्राउ गर्न जाँदा सूचना चुहावट गरेको र प्रहरीले नै सुरक्षा दिएको भन्ने विषय म मान्न तयार छैन । तर कही न कहीबाट सूचना पनि पुग्ने गरेको छ ।

यस्तो छ प्रहरीको निष्कर्ष

जिल्ला प्रहरी कार्यालय नवलपुरले केही दिन अघि कावासोतीमा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै नवलपुरका पछिल्लो एक बर्षको अपराधिक गतिविधि सार्वजनिक गरेको थियो । सोही क्रममा दिइएको तथ्यांक अनुसार अपराध नियन्त्रणमा नवलपुर प्रहरीको सबैभन्दा ठूलो सफलता जुवातास खेल्नेलाई पक्राउ गर्नु रहेको प्रहरी उपरीक्षक प्रकाश मल्लको दावी थियो ।

गत आर्थिक बर्षमा जुवातास सम्बन्धि ८ वटा मुद्दा मात्रै दर्ता भएको नवलपुरमा अघिल्लो आर्थिक बर्षमा त्यो संख्या ह्वात्तै बढेर ५३ वटा पुगेको छ । प्रतिशतको हिसावले अघिल्लो आर्थिक बर्षमा भन्दा ५ सय ६२ प्रतिशत बढी मुद्दा प्रहरीले दर्ता गरेको देखिन्छ ।

प्रहरी उपरीक्षक मल्लका अनुसार चाडपर्व, मेलापर्व, मेलापात आदिको नाममा जुवातास खेलाउने गरेको पाइन्छ । त्यसैगरी लुकिछिपी तथा प्रहरीको गतिविधि नियाल्दै पनि जुवा तास सञ्चालन गरिएको नवलपुरमा पाइएको छ ।

त्यस्तै जुवातास अपराधजन्य कार्य हो भन्ने ज्ञानको कमि, जुवातास खेल्ने बानीको विकास आदिले जुवातास खेल्ने क्रम नरोकिएको मल्लको ठहर छ । तथापि जुवा तास खेल्नेलाई पक्राउ गर्दा हरेक पटक नयाँ मानिसहरु पक्राउ पर्ने पटकेमा पर्नेमा कमी आएको मल्ले बताए ।

तस्वीरहरु सौजन्यः जिल्ला प्रहरी कार्यालय नवलपुरको पेसबुक पेजबाट



You might also like
Loading...