ad

लघुकथा: गहना

76


– गंगा खड्का –

” बुहारी तिमीलाई मैले छुट्टिँदा कुनै गहना पनि भाग लाएर दिएकी थिइनँ । बरु तिमी बुच्चो बस्यौ तर मसँग गहनाको लागि कहिल्यै कुनै गुनासो गरिनौ । अब मेरो शेषपछि तिमीलाई दिन्छन् भन्ने लाग्दैन । लिऊ यसमा केही गहना छन् ।”



छुट्टिएर बसेको १५ वर्षपछि केही पुराना गरगहनाको पोको दिँदै लक्ष्मीलाई सासूले भनिन् ।

” आ आमा , गरगहना लाएर को नै ठूलो भएको छ र ? देवर देवरानीको आँखा छलेर मलाई सिँगारिनु छैन । ” लक्ष्मीले नाइँनास्ती गर्न खोजिन् ।

” उ: बेलामा मेरो बुद्धि पुगेन , मैले व्यवहारमा तिमीलाई छुट्टाएँ । अब त मैले सबै बुझिसकेँ । उहिलेका कुरालाई लिएर मन नदुखाऊ न बुहारी ।” सासूले आफ्नो गल्ती स्वीकार गरिन् ।

” मैले हजुरसँग किन चित्त दुखाउनु आमा ? बरु हजुरलाई त धन्यवाद पो दिनुपर्छ त ।” लक्ष्मीको कुराले सासूलाई अलमल्ल बनायो ।

” कतै तिमीले मलाई कुनै घोचपेच त गर्न खोजेकी होइनौ ? ” सासूले पुरानै पारामा रवाफ देखाइन् ।

” त्यस्तो होइन आमा , नारीको लागि सबैभन्दा ठूलो गहना भनेको उसको पति हो । हजुरले आफ्नो छोरालाई राम्रो संस्कार दिएर हुर्काउनुको साथै पढाउनु लेखाउनुभएको रहेछ । आज मलाई गरगहनाले दिन नसक्ने खुसी मेरा श्रीमानले दिनुभएको छ । यस अर्थमा म हजुरप्रति कृतज्ञ छु । ”

– बूढानीलकण्ठ १, काठमाडौँ

  • आधुनिक लघुकथा मञ्च’ फेसबुक समूहमा यस हप्ता पोस्ट भएका लघुकथाहरुबाट उत्कृष्टमा पर्न सफल लघुकथा ।



You might also like
Loading...