ad

चितवनमा रासायनिक मलको अभाव : वीरगन्जबाट मल ल्याउँदै कृषि सहकारी

25

भरतपुर । चितवनमा रासायनिक मलको अभाव हुन थालेको छ । कृषि सामग्री कम्पनीको गोदाममा रासायनिक मल सकिएपछि किसानलाई मल पाउन मुस्किल भइरहेको छ ।


गोदाममा मल सकिएपछि कृषि सामग्री कम्पनी आफैँले चितवनका कृषि सहकारीहरुलाई मल लिनको लागि पर्साको वीरगन्ज पठाउन थालेको छ । कृषि सामग्री कम्पनीका प्रमुख राजन बगालेले गोदाममा रासायनिक मल सकिएको स्वीकार गरे । उनले भने, ‘हामीसँग गोदाममा यतिबेला मल छैन, केही सहकारीहरुले पहिले स्टकमा राखेको मल वितरण गरिरहेका छन् । केही सहकारीहरुलाई हामीले गाडी लिएर वीरगन्ज जान भनेका छौँ ।’

उनले चितवनका रत्ननगर, खैरहनी, गीतानगरलगायत विभिन्न ठाउँका झन्डै २० वटा सहकारीलाई मल लिनको लागि वीरगन्ज पठाइएको बताए । उनले भने, ‘गोदाममा मल छैन, मल चाहियो भन्छन्, अनि के गर्ने वीरगन्ज गएर लिएर आउनुहोस् भन्दै पठाएका छौँ ।’



कृषि सामग्री कम्पनीले चितवनमा विगतमा जस्तो मलको चरम अभाव नहोस् भन्ने हेतुले समन्वय गरेर मल लिन वीरगन्ज पठाएको जनाएको छ । गत वर्ष चितवनमा मलको चरम अभाव हुँदाको दृष्यले राष्ट्रव्यापी चर्चा पाएको थियो । सरकारको तीव्र आलोचनासमेत भएको थियो ।

‘बाहिरी देशबाट मल आएको छैन । वीरगन्जबाट स्टकमा रहेको मल चितवनका कृषि सहकारीहरुले ल्याएका हुन्’, कम्पनीका प्रमुख बगालले भने, ‘यतिबेला धानको लागि किसानले रासायनिक युरिया मलको माग गरेका छन्, डिएपी र पोटासको खासै माग छैन, तर वीरगन्जबाट गाडीमा लोड पु¥याउनको लागि युरियासँगै डिएपी मल पनि ल्याइरहेका छन् ।’

उनले तत्काल मल नआउने सङ्केत गरे । उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा मल महँगो भएका कारण नेपालका ठेकेदारहरुले हालेका ठेक्का पनि रद्द गरेका छन् । मल खरिदको लागि हालेका १३ वटा टेन्डर रद्द भएको जानकारी आएको छ ।’ उनले मलको अभाव अझै बढ्न सक्ने जानकारी दिए । उनले भने, ‘देशमा कृषिमन्त्री छैनन्, हालेका टेन्डर रद्द छन् । अन्तर्राष्ट्रिय बजारमा मलको भाउ बढेको छ, कोरोनाको कहर छ ।’

 

भरतपुर–६ गीतानगरस्थित सर्वोदय बहुउद्देश्यीय सहकारीका व्यवस्थापक राजु पौडेलले चितवनमा मल नपाएर वीरगन्जबाट मल ल्याएको बताए । उनले भने, ‘कृषि सामग्री कम्पनीमा मल भएन, कम्पनीले नै वीरगन्जबाट ल्याउन भन्यो । समन्वय पनि कम्पनीबाट भयो ।’ उनले ४०० बोरा युरिया र डिएपी मल ल्याएको जानकारी दिए । उनले भने, ‘किसानलाई वितरण गर्न थालेका छौँ, नपुगे फेरि ल्याउनुपर्ला तर वीरगन्जमा पनि प्रशस्त मल छैन, बाहिरबाट मल नआए मलको चरम अभाव हुने अवस्था देखिन्छ ।’

भरतपुर–१० नयाँ मातृभूमि कृषि सामग्री सप्लायर्सले पनि वीरगन्जबाट मल ल्याएको जनाएको छ । मातृभूमिका रामचन्द्र भण्डारीले चितवनबाट सिफारिस लिएर गएर वीरगन्जबाट मल ल्याएको बताए । उनले भने, ‘वीरगन्जमा पनि मल अन्तिम भइसकेको रहेछ २० टन पायौँ, त्यति ल्यायौँ ।’



You might also like
Loading...