ad

चितवनमा कोरोना : ओरालो लाग्दै सक्रिय संक्रमित

20

तुलमान गुरूङ – 


चितवन ०८ भदौ । चितवनमा केही दिनयता कोरोना भाइरसका सक्रिय संक्रमित घट्न थालेका छन्। भदौ लागेयताको एक हप्ते तथ्यांक केलाउँदा यो हप्तामा मंगलबार सक्रिय संक्रमितको संख्या सबैभन्दा कम छ। तथ्यांकअनुसार भदौ १ मा दुई हजार ५०१ जना सक्रिय संक्रमित रहेको चितवनमा २ गते दुई हजार ३९३, ३ गते दुई हजार ३४९, ४ गते दुई हजार २२९, ५ गते दुई हजार १६७, ६ गते दुई हजार २१२, ७ गते दुई हजार ५८ र ८ गते मंगलबार यो संख्या अझ घटेर एक हजार ८७६ मा झरेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

यो तथ्यांकले जरजर बन्दै गएको भाइरसको जोखिम केही कम भएको हो कि भन्ने आस जागेको छ। जिल्लामा सक्रिय संक्रमित घट्नुका साथै संक्रमणमुक्त हुनेको संख्या पनि बढ्दै गएको छ। सोही अवधिको तथ्यांकअनुसार मंगलबार २३७ जना संक्रमणमुक्त भएका छन्। यसअघि भदौ ७ गते २२९, ६ गते ८६, ५ गते १७०, ४ गते २२१, ३ गते १८१, २ गते २११ र १ गते २१२ जना संक्रमणमुक्त भएका थिए।




तथ्यांक हेर्दा भदौ लागेपछि पहिलो हप्ता पार गर्दैगर्दा चितवनमा एक हजार ५४७ जना संक्रमित संक्रमणबाट मुक्त भइसकेका छन्। मंगलबारसम्ममा कूल संक्रमितमध्ये २१ हजार ८३८ जना संक्रमणमुक्त भइसकेका छन्।

जिल्लामा नयाँ संक्रमित थपिने क्रम पनि कम हुँदै गएको छ। भदौ १ गते १२७ जना नयाँ संक्रमित थपिएका थिए। २ गते १०६, ३ गते १३९, ४ गते १०२, ५ गते १११, ६ गते १३३, ७ गते ७६ जना थपिएका थिए भने ८ गते मंगलबार जम्मा ६१ जना थपिएका छन्। १ गतेदेखि हालसम्म आइपुग्दा तुलनात्मकरुपमा नयाँ संक्रमितको संख्या पनि कम हुँदै गएको पुष्टि हुन्छ। एक साताकै तथ्यांक जोड्दा भदौ लागेपछि चितवनमा ८५५ जना नयाँ संक्रमित थपिएका छन्।

जिल्लामा हालसम्म कूल संक्रमितको संख्या भने २४ हजार ९६ जना पुगेको छ। त्यसमा ३८२ जनाले संक्रमणकै कारण ज्यान गुमाइसकेका छन्। पछिल्लो केही दिनयता दैनिक सरदर दुई/तीन जना संक्रमितको मृत्यु हुँदै आएको चितवनमा मंगलबार भने मृत्यु संख्या शून्य रह्यो।

अस्पतालमा पनि कमी

जिल्लामा संक्रमितको संख्यामा कमी आउँदै गर्दा अस्पतालमा उपचाररत संक्रमितको संख्यामा पनि कमी आएको छ। स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार मंगलबार चितवनका अस्पतालमा १६६ जना संक्रमितको उपचार भइरहँदा १६ जना भेन्टिलेटरमा छन् भने ६१  जनाआइसियूमा छन्। ७ गते १५९ जना रहेकामा १६ भेन्टिलेटरमा र ६० जना आइसियूमा, ६ गते १७१ जना रहँदा १६ जना भेन्टिलेटरमा र ५८ जना आइसियूमा, ५ गते १७९ जना रहँदा १७ जना भेन्टिलेटरमा र ६४ जना आइसियूमा थिए।

यस्तै ४ गते १८१ जना अस्पतालमा रहेकामा २२ जना भेन्टिलेटरमा र ६५ जना आइसियू थिए। ३ गते १९७ जना उपचाररत रहँदा २१ जना भेन्टिलेटरमा र ७१ जना आइसियूमा, २ गते‍ २०२ जना रहेकामा २१ जना भेन्टिलेटरमा र ७१ जना आइसियूमा थिए भने १ गते १९७ जना अस्पतालमा रहँदा २३ जना भेन्टिलेटरमा र ७३ जना आइसियूमा उपचाररत थिए। स्वास्थ्य कार्यालय चितवनको तथ्यांक हेर्दा अस्पतालमा उपचाररत संक्रमितको संख्या पनि बिस्तारै घट्दै गएको देखिन्छ।

डिस्चार्ज हुनेको संख्यामा सुधार भएन

अस्पतालमा भर्ना भएर उपचारपछि डिस्चार्ज हुनेको संख्यामा भने खासै सुधार भएको देखिँदैन। भदौ लागेपछि ८ दिन बित्दै गर्दा अस्पतालबाट डिस्चार्ज हुनेको संख्या अन्य दिनजस्तै सामान्य देखिएको छ। भदौ १ गतेको तुलनामा ८ गतेसम्म आइपुग्दा डिस्चार्ज हुनेको संख्या बढ्नुको सट्टा घटेको देखिन्छ। तथ्यांकअनुसार भदौ १ गते ३८ जना, २ गते २० जना, ३ गते १९ जना, ४ गते ३६ जना, ५ गते २६ जना, ६ गते २० जना, ७ गते ३३ जना र ८ गते मंगलबार जम्मा २५ जनामात्रै डिस्चार्ज भएका छन्।



You might also like
Loading...