देवचुलीका माहुरी बाजे: जसले पाडा बेचेर मौरी पाले, करोडको सम्पत्ति जोडे





रामकुमार श्रेष्ठ –

नवलपुर।पूर्वी नवलपरासीको देवचुली नगरपालिका ९ विशालटार निवासी ६७ बर्षीय हेमबहादुर रावलले व्यवसायिक मौरी पालन गरेको दुई दशक नाघि सक्यो । जति बेला नवलपुरमा निक्कै काम मात्रामा व्यवसायिक मौरी पालन गरिन्थ्यो तेति बेलानै उनले व्यवसायिक मौरी पालन शुरु गरेका हुन् ।




प्रगतिनगरमा उनीसँगै अन्य ४/५ जना किसानले पनि व्यवसायिक मौरी पालन शूरु गरेका थिए ।२०५६ सालमा मौरी पालन सम्बन्धि सामान्य तालिम पाए पछि उनी मौरी पालनतर्फ आकर्षित भएका थिए ।

हेमबहादुर रावल उति बेलाको घटना सम्झदै भन्छन् – मैले उति बेला २५ सयमा पाडा बेचेर मौरीमा लगानी गरेको हो ।केही अनुदान प्राप्त भएको थियो केही आफैले लगानी गर्नु पर्ने थियो । घार, मौरी, रानी किन्न निक्कै महंगो पर्दथ्ये उति बेला । शुरुमा एउटा घार किनेर शुरु गरेको हो। अहिले आफ्नै मह प्रशोद्धन केन्द्र पनि छ ।

एक घारबाट शुरु गरेको उनको मौरी पालन व्यवसाय अहिले १ सय ५० घारको हाराहारीमा छ कुनै बेला उनले झण्डै २ सय घारसम्म मौरी पुर्याए ।

उनले मौरी पालेर मह बेचेर आएको पैसालाई थोरै थोरै बचत गरे, विस्तारै थोरै थोरै जग्गा किने त्यही जग्गा बेचेर अहिले पक्की घर पनि ठडाएका छन् ।उनले मौरी पालनबाट कति आम्दानी गरे कुनै लेखाजोखा त छैन तर उनले नाम र दाम दुवै कमाएका छन् । मौरी बाजे उपनामले पनि चिनिने हेमबहादुर रावलले मौरी पालन गरेर मह, मौरी, रानी र मौरी घार बेचेरै १ करोड बढी सम्पत्ति जोडेका छन्। उनी भन्छन् – ‘खर्चको त लेखाजोखा नै छैन, केही जग्गा जोडेको छु। राम्रो घर बनाएको छु। दुःख पर्दा सरसापट पत्याउने भएको छु अरुलाई गाह्रो पर्दा पनि सहयोग गर्न सक्ने भएको छु ।’ रावलकै उदारहण लिने हो भने पनि मौरी पालन गरेर सजिलै जीवन धान्न सकिन्छ भन्ने प्रमाण हो यो ।

अहिले देवचुली नगरपालिकामा ४२ जना बढी व्यवसायिक मौरी पालक किसान छन् ।रावल र उनी जस्तै ४÷५ जना मौरी पालक किसानले गरेको उति बेलाको लगनले अहिले देवचुली नगरपालिका भित्रको साविक प्रगतिनगर गाविस मौरी पालनको लागि पकेट क्षेत्रकै रुपमा चिनिएको छ ।

नेपाल मौरी पालक महासंघ जिल्ला शाखा नवलपरासीको अध्यक्ष यदु कंडेल भन्छन् – हामी देवचुलीलाई मौरी पालन पकेट क्षेत्रमा रुपमा पहिचान गर्न सफल भएका छौं ।

देवचुलीमा बार्षिक १० टन, जिल्लामा ३० टन मह उत्पादन

१ हजार बढी घार माहुरी रहेको देचवुली नगरपालिकामा मात्रै बार्षिक १० टन मह उत्पादन हुने गर्दछ भने नवलपुर जिल्लामा बार्षिक ३० टन मह उत्पादन हुने गरेको नेपाल मौरी पालक महासंघ जिल्ला शाखा नवलपरासीको अध्यक्ष यदु कंडेलले बताए ।

जिल्लामा उत्पादित मह स्थानीय बजारका साथै नारायणगढ, बुटवल, काठमाडौं, पोखरा पनि निर्यात हुने गर्दछ । पछिल्लो समय कोरोनाको संक्रमणको बेला संक्रमितहरुले मह स्वास्थ्य उपचारका लागि प्रयोग गर्ने भए पनि महको खपत स्थानीय बजारमै धान्न गाह्रो भएको उनले बताए ।नवलपुरमा अहिले माहुरीको मह १ केजीको ६ सय रुपैयाँदेखि ८ सय रुपैयाँसम्म रहेको छ ।

 

दोस्रो पुस्ता पनि माहुरी पालनमा आकर्षित

नवलपुरमा महुरी पालनबाट राम्रै आन्दानी गर्ने किसानहरु बढ्दै गएपछि दोस्रो पुस्ता पनि यस व्यवसायिक माहुरी पालनतर्फ आकर्षित भएका छन् ।

हेमबहादुर रावलका छोरा राजेन्द्र रावल पनि अहिले आफ्नै बुवाले अंगालेको पेशामा बुवालाई साथ दिन तल्लिन छन् । उनी भन्छन् – यसबाट राम्रै आम्दानी हुँने र बुवासँग सानैमा पछिपछि लाग्दै गर्दा यही जाने अहिले यही नै गरेको छ । रावल बाबु छोराले रावल मौरी फर्म दर्ता गरेर अनुदान समेत लिएका छन् ।उनीहरुलाई प्रदेश सरकार र स्थानीय सरकारले महप्रशोधनका लागि अनुदान दिएर मह प्रशोधन केन्द्र समेत खोलिदिएको छ ।

नेपाल मौरी पालक महासंघ जिल्ला शाखा नवलपरासीको अध्यक्ष यदु कंडेल पनि बुवा नन्दलाल कंडेलकै सिको गरेर व्यवसायिक माहुरी पालनमा लागेका हुन् । उनी अहिले देवचुली नगरपालिकालाई माहुरी पालनको पकेट क्षेत्रको रुपमा विकास गर्न लागि परेको छन् ।

देवचुलीका हेमबहादुर रावल, लक्ष्मी प्रसाद रेग्मी, सुकबहादुर गुरुङ, डिलमणि चौधरी लगायतले शुरु गरेको व्यवसायिक माहुरी पालनमा यहाँका युवा पुस्ता पनि विस्तारै आकर्षित भएको यदु कंडेलले बताए ।




सम्बन्धित
Loading...