ad

लोकाहा औद्योगिक क्षेत्र विकासका लागि अन्तरक्रिया

102


नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका र देवचुली नगरपालिकाको क्षेत्र जोडेर निर्माण गर्न लागिएको लोकाहा औद्योगिक क्षेत्र विकासका लागि सरोकारवालाबीच छलफल भएको छ ।

गण्डकी प्रदेश सरकारका पर्यटन तथा उद्योग मन्त्री मणिभद्र शर्मा कंडेलले यस क्षेत्रको औद्योगिक क्षेत्र विकासका लागि सबैसँग मिलेर काम अगाडि बढाउने बताए ।



विहीबार कावासोतीमा भएको सरोकारवालासँगको अन्तरक्रियामा बोल्दै उनले भने – गण्डकी प्रदेशमा अघिल्लो सरकारको निर्णय अनुसार १ पालिका एक औद्योगिक ग्राम बनाउने माग हुँदा जम्मा २३ वटा पालिकाले निवेदन पठाएका रैछन् ति मध्ये कावासोती र देवचुलीले औद्योगिक क्षेत्रको रुपमा प्रस्ताव गरेको रैछ त्यसैले यसैको बारेमा बुझ्न म यहाँ आएको हु ।

उनले अहिले सामुदायिक वन, मालापोत, वन डिभिजन, साना तथा घरेलु उद्योग, स्थानीय सरकारबीच हुन भएको समन्वय अभावलाई पनि कम गरेर जाने बताए ।

 

कार्यक्रममा नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक ओमकला गौतम, नेपाली काँग्रेस नवलपुरका सभापति एवम् गण्डकी प्रदेश सभा सदस्य विष्णु लामिछाने, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा लगायतका दलका प्रतिनिधिहरु, सरोकारवाला कार्यालयका प्रमुख तथा प्रतिनिधि, सम्बन्धित वडा र पालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कावासोती नगरपालिका १, देवचुली नगरपालिका १०, १४ र १५ गरी १ सय ६० विगाहा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउने प्रस्ताव गरिएको छ । तर, काम भने खासै अगाडि बढ्न सकेको छैन ।

कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले यस क्षेत्रमा औद्योगिक क्षेत्र निर्माणका लागि सबै जनता उत्सुक रहेको बताएका थिए । तर, औद्योगिक क्षेत्र निर्माणका कुरा कागजमा मात्र सिमित नभएर तत्काल कार्यान्वयनमा जानु पर्ने स्थानीय जनप्रतिनिधिहरुको सुझाव रहेको थियो ।

त्यसैगरी डिभिजन वन कार्यालय नवलपुरका डिभिजनल वन अधिकृत मोहन राज काफ्लेले निजी क्षेत्रको विकासका लागि दिइने वनको सट्टा भर्ना चाहिने भए पनि सरकारले गर्न लागेको विकासका काममा कुनै पनि सट्टा भर्ना आवश्यक नपर्ने भएकोले वन कार्यालयको तर्फबाट कानुनसम्वत रचनात्मक सहयोग हुने बताए ।



You might also like
Loading...