स्वास्थ्य बीमामा आकर्षण बढ्दो


गैंडाकोट, १२ भदौ ।




पूर्वी नवलपरासीमा स्वास्थ्य बीमा कार्यक्रम प्रारम्भ भएसँगै जिल्लाका आठैवटा स्थानीय तहमा यसको आकर्षण बढेको पाइएको छ । तर जिल्लाभरका वडाका बीमा दर्ता सहयोगीले भने आफूहरुले पाउनुपर्ने सेवासुबिधा लामो समयसम्म पनि नपाएको गुनासो गरेका छन् ।

स्थानीय तहका प्रमुख एवं विभिन्न तहका जनप्रतिनिधि र सरोकारवाला निकायको सहभागितामा २०७७ फागुन महिनाबाट जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सन्चालन भएको थियो । बीमा कार्यक्रमलाई जिल्लाभरी हरेक परिवारका सदस्यसम्म पुर्‍याउन जिल्लाभरका कार्यालय प्रमुख र जनप्रतिनिधिहरुले प्रतिबद्धता जनाए पनि स्थानीय सरकारबाट नै असहयोग भएको र दिनरात खटिँदा पनि समयमै पारिश्रमिक नपाउँदा दर्ता सहयोगीहरु अन्योलमा परेको वडाका दर्ता सहयोगीले बताएका छन् ।


यो बिषयमा स्वास्थ्य बीमा बोर्डका प्रदेश प्रमुख जीवलाल खरेलसँग सम्पर्क गर्न खोज्दा भने सम्पर्क हुन सकेन । नवलपुर जिल्ला स्वास्थ्य बीमा बोर्ड कार्यालयका प्रमुख जागेश्वर भुसालले जिल्ला अधिकारीहरुबाटै केही त्रुटि भएको स्वीकार गरे । पछिल्लो समय जिल्लामा खटी आएका बीमा अधिकारीको सरुवासँगै कार्यालयमा बुझाउन पर्ने हरहिसाब विभिन्न कारणले पूरा नभएको एवं केन्द्रबाट पनि बीमा बोर्डलाई रकम नछुट्याइदिनाले यो समस्या आएको उनले बताए ।

यता गैंडाकोट वडा नम्बर( १ का दर्ता सहयोगी रामचन्द्र पौडेलले आफूहरु जिल्लालाई स्वास्थ्य बीमा कार्यक्रमको नमुना बनाउन लागिपरे पनि सेवासुबिधा नपाए घरदैलो कार्यक्रम स्थगन गर्ने बताए । ‘हामी जागिर भन्दा पनि कमिसनको आशमा, त्यो पनि न्यूनतम पारिश्रमिकमा समाजसेवाका रुपमा बीमा बोर्डले ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा दर्ता सहयोगीका रुपमा काम गरेका हौं’ – उनले भने ।

जिल्ला अधिकरीहरुको लापरबाहीले आफूहरुले पाउनुपर्ने सेवा सुबिधाबाट बञ्चित भएको गैंडाकोट नगरपालिका वडा नम्बर( ४ की प्रमिला न्यौपानेले सुनाइन् ।

जिल्लामा गत फागुन ९ गतेबाट सुरु भएको स्वास्थ्य बीमामा हालसम्म करीब ११ हजार बढी परिवार जिल्ला स्वास्थ्य बोर्डमा आवद्ध भैसकेका छन् ।




सम्बन्धित
Loading...