ad

भविष्यमा मङ्गल ग्रहमा मानव जीवन होला !

8

काठमाडौँ– पृथ्वीको मौसम त आश्चर्यलाग्दो छ नै तर मङ्गल ग्रहमा रहेको हिमपात र धुलोको हुरीको तुलनामा पृथ्वीको मौसमी विविधता सामान्य हुन सक्छ । मङ्गलका बारे थुप्रै अध्ययन भएको छ । अझ पत्ता लाग्दै जाने विषय हाम्रा लागि रोचक र आश्चर्यजनक दुवै हुनेछन् । अहिले धेरैलाई रोमाञ्चित र अध्ययन गर्न उत्साहित गरेको विषय मङ्गल ग्रहमा देखिन थालेको हिमपात हो जसले बस्ती बसाल्ने महत्वाकांक्षा बढाइदिएको छ ।


विज्ञानले सौर्य मण्डलका अनेकौँ ग्रहका बारे अध्ययन गर्दै जाँदा नयाँ कुरा पत्ता लगाएको छ । मान्छे कुनै नयाँ स्थानमा पुग्नुभन्दा पहिले त्यहाँको मौसमी अवस्थाबारे जानकारी लिनै पर्छ । अझ मङ्गल ग्रहको नक्सा तयार भएको छ । अब महत्वपूर्ण स्रोतहरूको जानकारी लिनु आवश्यक हुन्छ । मङ्गलमा पग्लिरहेको बरफ र हिउँ त जरुरी विषय हुने नै भयो ।



पृथ्वी, मङ्गल ग्रह र शनिको उपग्रह टिटानका बारे धेरै मिल्दा विशेषताहरू पाइएका छन् । याले विश्वविद्यालयमा विज्ञान र मानविकी संकायमा पृथ्वी तथा ग्रह विज्ञानका पोस्ट डक्टरल रिसर्चर जे माइकल बालाटियोले यो अध्ययनको नेतृत्व गरिरहेका छन् । उनले बताएअनुसार अबको एक दशकमा मङ्गल ग्रहको पनि पृथ्वीको जस्तै केही दिनको मौसम पूर्वानुमान गर्न सकिनेछ । यो पूर्वानुमान एकदमै सही हुने उनको दाबी छ ।

अवलोकन गरिएका डाटा सेट अझ बढी राम्ररी समन्वय गर्दै यसलाई भरपर्दो मोडलमा लैजान बाँकी रहेको उनले बताएका छन् । त्यो समयसम्म मौसम र जलवायुमा अन्तर्निहित धेरै कुराहरूको आधारमा मानिसले त्यहाँको धुलोको हुरीबारे अनुमान गर्न सक्नेछ ।

वैज्ञानिकहरूले पत्ता लगाएको तथ्य के हो भने पृथ्वीका धेरै कुराहरू एनुलर मोडमा रहेका छन् । धेरै ग्रहहरूको सम्बन्धको कारण मौसममा प्रभाव पर्न सक्छ । पृथ्वीको मौसम परिवर्तनको मोड भने मङ्गल र टिटानसँग मिल्दो छ ।

पृथ्वीको वायुमण्डलीय बहाव, मौसममा आउने परिवर्तन, तिनीहरूले ‘जेट स्ट्रिम’ मा पार्ने प्रभाव, बादलको बनावट र संसारभरि हुने वर्षाको स्वरूप एनुलर मोडमा हुने गरेका छन् । यही शैलीको मौसम मङ्गल र टिटानमा हुने अनुमान गरिएको हो ।

मङ्गल ग्रहमा हुने हावासहितको हुरीको यो बहावलाई बालाटियोले पृथ्वीको समुद्री किनारमा हुने बहाव जस्तै पाएका छन् । उस्तै खाले करेन्ट यी दुवै हुरीमा रहने गरेको छ । उनले १५ वर्ष मङ्गलको अध्ययन गरेपछि पृथ्वी र मङ्गलको एनुलर मोड उस्तै रहन सक्ने पत्ता लगाएका हुन् ।

बालाटियोेका ल्याब सुपरभाइजर तथा एलेका पृथ्वी तथा ग्रह विज्ञानका सहायक प्राध्यापक हुवाँ लाउराले पनि टिटानका लागि एउटा जलवायु मोडल बनाएका छन् । यसैका आधारमा उनी शनिको मौसम पनि अध्ययन गर्ने योजनामा छन् ।

यी दुवै वैज्ञानिकले नयाँ रहस्य के पनि पत्ता लगाए भने यो एनुलर मोड पृथ्वीमा भन्दा अन्य ग्रहमा अझ प्रभावकारी ढङ्गले चल्ने गरेको छ । मङ्गलमा आधाभन्दा बढी हावाको बहाव र टाइटनका दुई तिहाई हावाको बहाव एनुलर मोडमा रहेका छन् । उनीहरूको यो निष्कर्ष गत साता नेचर एस्ट्रोनोमीको जर्नलमा प्रकाशित भएको थियो ।

लाउराले यसअघि दिएको जानकारीअनुसार टिटानमा मिथेन वर्षा र मिथेन बादलको बारे धेरै अघिदेखि अध्ययन भइरहेको हो । यसै एनुलर मोडको टिटानको जेट स्ट्रिममा समेत प्रभाव पर्न सक्छ । यसैको आधारमा वैज्ञानिकले अर्को ग्रहमा पनि एनुलर मोड पत्ता लगाउन सक्नेछन् ।

बाटालियोको अर्को कथन के हो भने यिनीहरू एनुलर मोड फरक रहे पनि सौर्य मण्डलमा यो मोड सर्वव्यापी हुन सक्छ । यसै मोडले धुलोसहितको हुरी पनि तयार भएको अनुमान गरिएको छ ।

हालसम्म गरिएका यी सबै अध्ययन मिसनको सुरक्षाका लागि एकदमै लाभदायक साबित हुनेछन् । सौर्य मण्डलमा जाने या अन्तरिक्षसम्म पुग्ने कुरामा कति जोखिम हुन सक्छ भन्ने कुरा यस अध्ययनले पत्ता लगाउन सक्नेछ । त्योभन्दा बढी कुनै ग्रहको सतहमा पुग्दा कति जोखिम हुन सक्छ र जोखिमका कारण के के हुन सक्छन् भन्ने निष्कर्ष निकाल्न अझ बालाटियोले भने जस्तै एक दशक त पर्खनै पर्नेछ ।

मङ्गलमा धुलो र हुरीका कारण कहिलेकाहीँ दिउँसै पनि रातजस्तो अन्धकार हुन्छ, केही पनि देखिँदैन । यो कुन समयमा बढी हुन्छ भनेर पूर्वानुमान लगाउने अवस्था नभएसम्म मानिसले त्यहाँ पाइला टेक्नु धेरै जोखिम हुन सक्नेछ ।

यस्तो हुरी आवधिक रूपमा हुने गरेको छ । कुनै समय यसरी धूलो उड्दैन तर त्यो धुलो उड्ने र नउड्ने समय कुन कुन हो भनेर पत्ता लगाउन चाहिँ विज्ञानका लागि अत्यन्त चुनौतीपूर्ण मानिएको छ ।

धुलोकै कारण यसअघि रोर्बट सम्बन्धी एक मिसन रोकिएको थियो । पहिलो पटक २००४ मा रोबट मङ्गलमा पुगेको थियो । यसले केही डाटाहरू पठाए पनि यसलाई व्यवस्थित गराउँदै अझ धेरै र परिष्कृत डाटा संकलन गर्ने अर्को योजना बनेको थियो ।

यो भयानक धुले हुरीले २०१९ को हर्को मिसनलाई अवरोध गर्‍यो । अहिले यसरी धुलो उड्ने क्रम रोकिएको छ । अझ भनौँ, सामान्य उड्ने गरेको छ ।

मङ्गलका केही फोटोहरूमा मारिएन ध्रुवमा हिउँ परेको पाइएको छ । हुन त यो रातो ग्रहमा हिउँ परिरहेको तस्बिर लिनु अत्यन्त कठिन काम थियो । परन्तु २००८ को नासाको ‘फोनिक्स ल्यान्डर’ ले ध्रुवमा हिउँ परिरहेको फोटो लिएको थियो । रातको समयमा त्यहाँ हिउँ परेको तस्बिर ल्यान्डरले लिएको हो ।

यही ल्यान्डर र ‘मार्स रिक्वेनाइसेन्स अर्बिटर’ को डाटा प्रयोग गर्दै एरिजोना स्टेट युनिभर्सिटीका डक्टर विद्यार्थी आदित्य खुलार र उनका साथीहरूको समूहले त्यो हिउँ केही फरक खालको भएको तथ्य सार्वजनिक गरेको थियो ।

हिउँ परिरहँदा धुलोको कण पनि मिसिने गरेको छ । पृथ्वीमा रहेको भन्दा त्यहाँको हिउँ धेरै फोहोर हुने गरेको छ । हिउँलाई पनि धुलोले ढाक्ने गरेको छ । यो धुलोको कारण मङ्गलमा भेटिने हिउँ र बरफ पृथ्वीको भन्दा फरक रङ्गको हुने गरेको छ । गत १८ अगस्टमा ‘अमेरिकन जियो फिजिकल युनियन’ को ‘जियो फिजिकल रिसर्च प्लानेट’ मा प्रकाशित जर्नलमा यी तथ्यहरू समेटिएका छन् ।

यी अध्ययनसँगै एउटा रोचक उपाय पनि निस्किएको छ । त्यो धुलाले नै हिउँ या बरफको तापक्रम बढाएको छ र यसै कारण यो पग्लिरहेको छ भन्ने अनुमान बलियो ठानिएको छ । यसै सतहमा चिसोमा पनि बाँच्न सक्ने केही जीवाणु हुन सक्ने अनुमान पनि गरिएको छ ।

यो गाढा रङ्गको हिउँ र बरफ केही सेन्टिमिटर पग्लिएको पनि खुलरको निष्कर्ष छ । यसरी पग्लिएपछि पानी भएको त्यही पदार्थ वाष्पीकरण हुँदै फेरि वायु मण्डलमा पुगेर बादल हुनसक्ने उनले जनाएका छन् ।

यो बरफ पुग्ने क्रमका बारे खुलरको अध्ययन अझै जारी छ । यो नै मङ्गलको जलवायु इतिहासमा एउटा कोशेढुङ्गा पनि साबित हुन सक्नेछ । धेरै वैज्ञानिकहरू यसको इतिहास खोज्न पनि त्यतिकै तल्लीन छन् । बरफ र हिउँ जम्ने विभिन्न चरण या युग नै यो ग्रहले पार गरेको उनीहरुको निष्कर्ष छ ।

खुलरको योभन्दा पुरानो अध्ययनले मङ्गलको बीच अक्षांशमा धुलोसहितको बरफ पग्लेकाले भूमध्यको मध्यसम्म खोल्सा र खोला पनि हुन सक्ने कुरा पत्ता लगाएको थियो । यदि हिउँ र बरफ साँच्चै पग्लिरहेको भए पानीले बाटो लिएको हुन सक्छ । गृष्म ऋतुमा मङ्गलमा पानी पर्ने सम्भावनाका बारे पनि विज्ञानले थप अध्ययन गर्दैछ ।

मङ्गलका बारे अध्ययन त भइरहनेछ तथापि एक दशकको बीचमा त्यहाँको मौसम पूर्वानुमान गर्न सहज हुने र यसपछि मानिसको बसोबासका बारे पनि अध्ययन हुने अपेक्षा छ ।

एजेन्सीहरूको सहयोगमा



You might also like
Loading...