ad

त्रिकोणात्मक सिरिजमा आज नेपाल र अमेरिका भिड्दै

14

 


आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एकदिवसीय सिरिज आज शुरू हुँदैछ ।

 

 

प्रतियोगितामा आज नेपालले अमेरिकाको सामना गर्दैछ । ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने खेल अपराह्न ४:१५ बजे हुनेछ ।

 

 



हालै भएको पपुवा न्युगिनीविरुद्धको मैत्रीपूर्ण खेलमा शानदार जित हात पारेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रनेछ । कप्तान ज्ञानेन्द्र मल्लले अमेरिकाविरुद्धको खेल कठिन हुने बताएका छन् ।

 

 

लिग–२ अन्तर्गत यसअघि त्रिवि क्रिकेट मैदानमा भएको खेलमा अमेरिकालाई दुबै खेलमा हराएकाले नेपाल हाबी हुने अनुमान गरिएको छ ।

 

 

सन् २०२० को फेब्रुअरी १२ मा त्रिवि क्रिकेट मैदानमा नेपालले अमेरिकासँग पछिल्लो पटक प्रतिस्पर्धा गरेको थियो। त्यस खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराएको थियो।

 

 

त्यसअघि फेब्रुअरी ८ को खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो । यद्यपि ओमानको मैदान फरक भएकाले विगतकै नतिजा दोहोर्‍याउन नेपाललाई कठिन छ ।

 

 

सोही सिरिजमा नेपाल ओमानसँगको दुबै खेलमा पराजित भएको थियो। ओमानसँग नेपाल पहिलो खेलमा १८ रन र दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो।

 

 

नेपालले दोस्रो खेलमा भोलि मंगलबार ओमानसँग खेल्नेछ । तेस्रो खेल अमेरिकासँग शुक्रबार हुनेछ भने अन्तिम खेल ओमानसँग आइतबार हुनेछ ।

 

 

लिग–२ मा नेपालले अहिलेसम्म चार खेल खेलेको छ । त्यसमा नेपालले दुई खेलमा जित तथा दुई खेलमा हार व्यहोरेको छ । नेपाल चार अङ्क जोड्दै छैटौँ स्थानमा छ ।

 

 

त्यसैगरी १० खेल खेलेको ओमान १६ अङ्कका साथ लिगको शीर्ष स्थानमा छ । १२ खेलमा १२ अङ्क बटुलेको अमेरिका दोस्रो स्थानमा छ ।



You might also like
Loading...