ad

पश्चिम नवलपरासीका किसान यस वर्ष पनि केराले बजार नपाउने चिन्तामा

33


तयारी अवस्थामा रहेको केराले बजार नपाउँदा पश्चिम नवलपरासीका केरा खेती गर्ने किसानहरु मर्कामा परेका छन् । अहिले केरा बेच्न तयारी अवस्थामा छ तर केरा खरिद गर्न व्यापारीहरु खासै आउने गरेका छैनन् । कोरोना महामारीका कारण गत वर्ष पनि खासै व्यापार भएको थिएन । तर कोरोना महामारीको समयमा पनि भारतबाट केरा आयात भईरहेकाले नेपाली किसान मर्कामा परेको किसानहरुको गुनासो छ ।

सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेको बताएपनि बजारीकरणमा ध्यान नदिँदा लगानी नै गुम्ने अवस्था सृजना भएको केरा उत्पादक संघ पश्चिम नवलपरासीका अध्यक्ष लख्खु यादवले बताउनुभयो । अहिले पनि भारतबाट धमाधाम केरा आयात भईरहेका कारण व्यापारीहरुले नेपाली केरा खरिद गर्न चासो नदेखाएको उहाँले बताउनुभयो ।



‘‘गत वर्ष पनि यस्तै हालत थियो, हामीले मिडियामा बोल्यौं, प्रशासनको ध्यानआर्कषण गरायौं र आयातमा केही कमी भएको थियो फेरि यस वर्ष पनि आयात भईरहेको छ,’’ जसका कारण नेपाली केरा किसान मारमा छन्,’’ यादवले भन्नुभयो ।

रुपन्देहीको भैरहवा, कपिलवस्तुको कृष्णनगर, पर्साको विरगंज लगाएतका नाकाबाट भारतीय केरा किलोका हिसाबले आयात हुने गरेको छ । भारतबाट आएको केरा नेपाली केराको तुलनामा सस्तो पर्ने भएकाले नेपाली केरा विक्रि हुन छाडेको हो । गत वर्ष पनि केरा विक्रि नहुँदा बोटमै कुहिने अवस्था सृजना भएको थियो ।

पश्चिम नवलपरासीमा केरा खेती गर्ने किसान बढेपनि बजार नपाउँदा खेतीबाटै पलायन हुने अवस्था सृजना भएको छ । उखु खेती गर्ने किसानहरु समेत उखु रोप्न छाडेर केरा खेती तर्फ आर्कर्षित भएका छन् तर केराले बजार नपाउँदा किसानहरु फेरि केरा खेतीबाट पनि पलायन हुनुपर्ने अवस्था सृजना हुन थालेको उनीहरुको भनाई छ ।

उखु रोप्ने किसानहरुले चिनि उद्योगले उखु विक्रि बापतको रकम नदिँदा समस्या खेप्नुपरेपछि विस्तारै उखु छाडेर केरा खेती तर्फ आकषर््िात भएका हुन् । पश्चिम नवलपरासीको सुस्ता र ंप्रतापपुर गाउँपालिकाबमा बढी केरा खेती हुने गरेको छ । पछिल्लो समय २ हजार बढी विगाहामा केरा खेती हुँदै आएको छ । केरा खेतीको क्षेत्रफल बढ्दै जाँदा बजार व्यवस्थापन चुनौतिपूर्ण बनेको छ ।

किसानहरुले केरा विक्रि नहुँदा कुहिने अवस्था सृजना भएपछि स्थानिय बजारमै ट्याक्टरमा राखेर विक्रिका लागी घुमाउने गरेका छन् । तर त्यसो गर्दा झनै खर्चिलो हुने उनीहरुको भनाई छ । बजारीकरणको लागि सरकारले भारतीय केराको आयात बन्द गरेर स्थानिय उत्पादनलाई प्राथमिकता दिन पटक–पटक माग गर्दा सुनुवाई नभएको केरा उत्पादक संघले जनाएको छ ।

जग्गा लिजमा लिएर खेती गरिरहेकाहरु बढी मारमा पर्ने गरेका छन् । एकातिर बैंकको व्याज र अर्कोतिर जमिनको भाडा बुझाउनु पर्दा केरा विक्रि भएन भने आफूहरु टाट पल्टिने चिन्तामा किसान भएपनि तिनै तहका सरकार यस विषयमा मौन रहेको छन् ।



You might also like
Loading...