बलात्कार गरेर लुटपाट गर्ने १४ वर्ष पछि पक्राउ





एक महिलालाई बलात्कार गरी साथमा भएको सुनका गरगहना समेत लुटपाट गर्ने व्यक्तिलाई प्रहरीले १४ वर्ष पछि पक्राउ गरेको छ ।

 

प्रहरीले जबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादी सुनसरी इटहरी उपमहानगरपालिका १७ पकली बस्ने ४१ वर्षीय बल्ला भन्ने रजावुल मियालाई पक्राउ गरेको जनाएको छ ।

 




उक्त मुद्दामा उच्च अदालत विराटनगरको २०६८ असार ३० गतेको फैसलाले १४ वर्ष ५ महिना १२ दिन कैद सजाय र ६४ हजार ५ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनकै घर ठेगानामा फेला पारी पक्राउ गरेको हो ।

 

२०६४ भदौ १५ गते राति पीडितलाई डर त्रास देखाई जबरजस्ती करणी गरेर सुन लगायतका बहुमुल्य गहना समेत लुटेर फरार रहेको घटनामा दोषी ठहर भई उनलाई उक्त सजाय तोकिएको थियो ।

 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मोरङ पठाइएको उक्त ब्यूरोले जनाएको छ ।




सम्बन्धित
Loading...