लोकसेवा आयोग विधेयक पारित


राष्ट्रियसभाले ‘लोकसेवा आयोग, विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले का सांसदहरुको अवरोधबीच उक्त विधेयक पारित गरिएको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘लोकसेवा आयोग विधेयक, २०७५ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।







सार्वजनिक सेवालाई सक्षम, गुणस्तरीय र पारदर्शी बनाउने उद्देश्यले नयाँ ऐन ल्याइएको हो । ऐन प्रमाणीकरण भएको ३१ दिनपछि लागू हुनेछ ।  राष्ट्रियसभाको आजको दोस्रो बैठकमा पनि एमालेका सांसदको अवरोध कायमै रहेको थियो । बैठक प्रारम्भ हुनेबित्तिकै एमाले सांसदहरुले उभिएर विरोध जनाएपछि सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सो पार्टीका सांसद कोमल वलीलाई आफ्नो भनाइ राख्न समय दिएका थिए ।

सांसद वलीले सभामुखले सांसद पदको दुरुपयोग गरेको आरोप लगाउँदै अहिलेकै अवस्थामा सदनको काम कारवाही अघि बढ्न नसक्ने बताए । सभाध्यक्ष तिमल्सिनाले प्रतिनिधिसभामा उठेका विषयलाई लिएर राष्ट्रियसभामा अवरोध गर्नु उचित नभएको बताउँदै सदनको औचित्य र गरिमालाई कायम राख्न सांसदलाई आग्रह गरे ।




सम्बन्धित
Loading...