राजधानीमै बोक्सीको आरोपमा महिलालाई मलमूत्र खुवाइयो, श्रीमान्सहित चारजना पक्राउ


 




बोक्सी आरोपमा दुई दिनसम्म यातना दिएर मलमूत्र खुवाउने श्रीमान्सहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर लुुभुका जितेन्द्र महर्जन, दिपेन तामाङ भनिने दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डे छन् । उनीहरूले लुभुकी ३३ वर्षीया सुष्मा श्रेष्ठलाई ठूलोभर्‍याङमा दुई दिनसम्म थुनी मलमूत्र खुवाएका थिए ।

घटनामा संलग्नमध्ये जितेन्द्र सुष्माका श्रीमान् हुन् । उनकै मिलेमतोमा सुष्मालाई दुई दिनसम्म थुनेर शारीरिक यातना दिई मानिस र कुकुरको मलमूत्र खुवाइएको थियो । प्रहरीका अनुसार पीडित सुष्माको शरीर, नितम्ब, अनुहार र खुट्टामा नीलडाम छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले बोक्सी आरोपमा सुष्मालाई दुई दिनसम्म यातना दिएको अनुसन्धानबाट खुलेको बताए ।




‘बोक्सीको आरोपमा सुष्मालाई दुई दिनसम्म थुनेर यातना दिएको देखिन्छ । मलमूत्र पनि खुवाएको पीडितको भनाइ छ । उनको शरीरमा निलडाम देखिन्छ । घटनामा उनकै श्रीमान्को संलग्नता देखिन्छ । प्रहरीमा पीडितले जाहेरी दिएपछि घटनामा संलग्न सबैलाई हामी पक्राउ गरेका हौँ,’ उनले भने ।

प्रहरीका अनुसार यातनापछि जितेन्द्रले सुष्मालाई उनको माइतीमा लगेर छाडेका थिए । शरीरमा निलडाम देखेपछि माइती पक्षले घटनाको सम्बन्धमा चासो लिएका थिए । बोक्सी आरोपमा यातना दिएको र यसक्रममा मानिस र कुकुरको मलमूत्रसमेत खुवाइएको खुलेपछि माइती पक्षले सुष्मालाई प्रहरीमा जाहेरी दिन सल्लाह दिएको थियो ।

सोही क्रममा सुष्माले २२ भदौमा प्रहरी परिसर टेकुमा जाहेरी दिएकी थिइन् । ‘ठूलोभर्‍याङमा दुई दिनसम्म थुनेर यातना दिएछन् । त्यसपछि श्रीमान्ले लगेर माइतीमा छाडेछन् । शरीरमा निलडाम देखेपछि माइती पक्षले सोधपुछ गरेछन् । त्यसपछि घटना बाहिरियो,’ परिसर प्रवक्ता एसपी बस्नेतले भने ।

पेट दुखेकी सुष्मालाई डाक्टर होइन, झाँक्रीकहाँ लगियो
प्रहरीका अनुसार सुष्मा श्रीमान्सँगै लुभुमा बस्दै आएकी थिइन् । पेट दुखेको भनेपछि श्रीमान् जितेन्द्रले सुष्मालाई १८ भदौ साँझ ठूलोभर्‍याङस्थित झाँक्री दीपेन्द्रकुमारकहाँ लगेका थिए । दीपेन्द्रले केहीबेर नाडी छामेर जोखाना हेरे । यसक्रममा बोक्सी चढेको खुट्याएपछि जितेन्द्रको सहयोगमा दीपेन्द्रले सुष्मालाई लछारपछार गर्दै कुटपिट गरेका थिए ।

मानिस र कुकुरको मलमूत्र पनि यही क्रममा जम्मा गरिएको थियो । बोक्सी उतार्ने भन्दै नारायण र जितेन्द्रको सहयोगमा दीपेन्द्रले सुष्मालाई मलमूत्र खुवाएका थिए । दुई दिनपछि जितेन्द्रले सुष्मालाई माइती लगेर छाडेका थिए । ‘लुभु बस्ने सुष्मा बिरामी रहिछिन् । उपचार गर्न अस्पताल लैजानुको सट्टा श्रीमान्ले सुष्मालाई झाँक्रीकहाँ लगेछ । झाँक्रीले बोक्सी चढेको भनेपछि यातनाका सबै घटना भएको देखिन्छ । काठमाडौंमै यस्तो घटना भयो । त्यसो हुँदा प्रहरीले यसलाई गम्भीर रूपमा लियो । पक्राउ परेकाविरुद्ध म्याद थप गरेर अनुसन्धान हुँदै छ,’ बस्नेतले भने ।




सम्बन्धित
Loading...