ad

निकुञ्जमा बढ्न सकेनन् अर्ना, नयाँ पुस्ता हुर्कंदै

22


भरतपुर । चितवन राष्ट्रिय निकुञ्जबाट संरक्षित जनावर अर्ना लोप भएको झन्डै ५७ वर्षपछि २०७३ सालमा निकुञ्जमा अर्ना स्थानान्तरण गरेर ल्याइयो ।

 

सरकारको निर्णयअनुसार कोशीटप्पु वन्यजन्तु आरक्षबाट १२ र सदर चिडियाखानाबाट ३ गरी १५ वटा अर्ना स्थानान्तरण गरी निकुञ्जको पुरानो पदमपुर फाँटमा खुला खोर (इन्क्लोजर) बनाएर संरक्षण गर्न थालिएको हो ।

 



यसबीचमा अर्नाको नयाँ पुस्ताको जन्म भइरहे पनि निकुञ्जमा अर्नाको संख्या भने बढ्न सकेको छैन । इन्क्लोजरमा अहिले १२ वटामात्रै अर्ना छन् । स्थानान्तरण गरेर ल्याइएका १५ मध्ये ६ वटामात्रै बाँचेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले बताए । पुराना अर्नाले जन्माएका ७ मध्ये ६ वटा बच्चा सकुशल छन् ।

 

‘चिडियाखानाबाट ल्याइएका अर्नाहरु पालुवा जनावर नै थिए । यहाँ इन्क्लोजरमा तारजाली लगाएर बारिएको भए पनि खुला क्षेत्र नै हो । चिडियाखानामा जस्तो पाल्ने भन्ने हुँदैन, जसले गर्दा उनीहरु बाँच्न सकेनन् र ल्याएकै वर्ष केही मरे’, उनले भने, ‘अर्काे कुरा, कोशीटप्पुबाट ल्याइएका अर्नाहरु बाघ र ठूला चितुवासँग लड्न सक्ने र धपाउन सक्ने खालका थिएनन् । उनीहरुले बाघ नै देखेका थिएनन् । यहाँ आएपछि इक्लोजरमा बाघ छिरेर अर्ना मारेको घटना पनि छ ।’

 

अर्ना झुन्ड बनाएर बस्ने जनावर हो । कोशीटप्पुबाट ल्याइएका १२ वटा अर्ना एउटै झुन्डका थिएनन् । फरक–फरक झुन्डबाट ल्याइएको र यहाँ ल्याइसकेपछि पनि झुन्डमा नबस्दा २०७४ मा बाघको आक्रमणबाट एउटा अर्ना म¥यो । सोही वर्ष बाढीले बगाएर दुईवटा अर्ना मरे । तीनवटा कालगतिले मरे । बाघको आक्रमण, बाढी र कालगतिले कोशीटप्पुबाट ल्याएका १२ मध्ये ६ वटा अर्ना मरेको उनले बताए ।

 

‘स्थानान्तरण गरेर ल्याइएका अर्नाले हामीले सोचेजसरी झुन्ड बनाउन र पुनः जंगलीकरण हुन सकेनन्, जसले गर्दा ९ वटा अर्ना मर्न पुगे’, उनी भन्छन्, ‘यहाँ आइसकेपछि अर्नाले ७ वटा बच्चा जन्माए । एउटाचाहिँ बाघको आक्रमणबाट म¥यो, ६ वटा भने सकुशल छन् ।’ पुराना ६ वटा र निकुञ्जमा जन्मिएका ६ वटा गरी इन्क्लोजरमा अहिले १२ वटामात्रै अर्ना रहेको उनले जानकारी दिए ।

 

संरक्षित जातिको जनावरमा सूचीकृत अर्नाको संरक्षणका लागि निकुञ्जको पुरानो पदमपुर फाँटमा ४८ हेक्टरमा तारजालीले बेरेर इन्क्लोजर बनाइएको हो । सुरूमा ३० हेक्टरको इक्लोजर बनाएर अर्नाको संरक्षण थालिएकोमा आव २०७६/७७ मा १८ हेक्टर थपिएको हो । निकुञ्जले इन्क्लोजरभित्र पोखरी खन्ने र घाँसको व्यवस्थापन गर्ने गरेको छ ।

 

निकुञ्जको कोर इलाकामा पर्ने पदमपुरमा बाघ प्रशस्त पाइन्छ । पुराना भइसकेका र नयाँ जन्मिएका अर्नाले बल्ल बाघसँग लड्न सिक्दै गरेको संरक्षण अधिकृत अधिकारी बताउँछन् । नयाँ पुस्ताका अर्नाको संख्या बढ्दै जाँदा भने संरक्षणकर्मी खुसी भएका छन् । भएका अर्नाको संरक्षण गर्दै नयाँ पुस्ताको संख्या बढाउनु नै निकुञ्जका प्रमुख चुनौती बनेको छ ।

कम्तीमा २५ वटासम्मको एउटा झुन्ड बनाउन सके उनीहरुले बाघलगायतका हिंस्रक जनावरसँग लड्न र जुध्न सक्ने उनले बताए ।

‘धेरैको संख्यामा झुन्ड बनाउन सके आफैँमा सुरक्षित हुन सक्थे’, उनी भन्छन्, ‘अहिले इन्क्लोजरमा राखे पनि पछि त प्रकृतिमै छाड्ने हो, प्रकृतिमा छाड्नका लागि पनि अहिले भइरहेका अर्नाको संख्या बढाउन जरूरी छ ।’ कुनै जमानामा चितवन राष्ट्रिय निकुञ्जमा अर्नाको बासस्थान रहेको र यहाँको वातावरण अर्नाका लागि अनुकूल छ भन्ने यकिन गरेर नै अर्ना स्थानान्तरण गरिएको उनले बताए । अर्नाको बासस्थान विनाश भएपछि विगतमा अर्ना लोप भएका थिए ।

  • चितवन पोष्टबाट


You might also like
Loading...