पश्चिम नवलपरासीमा झण्डै ३० प्रतिशतले पाए कोरोना विरुद्धको पूर्ण खोप


पश्चिम नवलपरासीमा लक्षित जनसङ्ख्या मध्ये झण्डै तिस प्रतिशतले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले दिएको जानकारी अनुसार हाल सम्म १८ वर्ष माथिका ६६ हजार ८ सय ५६ जनालाई खोप लगाईएको छ जुन लक्षित जनसङ्ख्याको २९ दशमलव ९ प्रतिशत रहेको छ ।

 




जिल्लामा विभिन्न चरणमा प्राप्त भएका कोभिसिल्ड, भेरोसेल, एस्ट्राजेनेका, जोनसन लगाएतका खोप लगाईएको छ ।

 

पहिलो मात्रा लगाएको आधारमा ३४ दशमलव ४ प्रतिशत लक्षित जनसङख्याले खोप लगाएका छन् । पश्चिम नवलपरासीमा कुल जनसङख्या ३ लाख ७८ हजार बढि रहेकोमा कुल जनसङख्याको आधारमा १७ दशमलव ७ प्रतिशतले पुर्ण खोप पाएका छन् ।

 




अहिले जिल्लामा बाँकि रहेको खोप विद्यार्थीहरुलाई लगाइँदै आएकोमा खोपको स्टक सकिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कृष्ण प्रसाद पोखरेलले जानकारी दिए। उनका अनुसार थप खोप प्राप्त हुने भएकाले फेरि कोरोना विरुद्ध जिल्लाका सातै पालिकामा नियमति खोप कार्यक्रम संञ्चालन गरिने पोखरेलले बताए ।

 

पश्चिम नवलपरासीमा सबैभन्दा पहिले कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाईएको थियो । जसमध्ये १७ हजार १ सय ५१ जनाले कोभिसिल्डको दुवै डोज लगाएका छन् भने अझै ६ हजार ५ सय ५१ जनाले दोस्रो डोज लगाउन बाँकि छ । कोभिसिल्ड खोप आउन बन्द भएकाले त्यस्को बदलामा एस्ट्राजेनेकाको खोप लगाइँदै आएको छ ।

 

लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये पश्चिम नवलपरासी खोप लगाउने लक्षित जनसङ्ख्याको आधामार पाँचौ स्थानमा छ । सबैभन्दा बढी गुल्मीमा ३७ दशमलव ८ प्रतिशतले खोप पाएका छन् भने सबैभन्दा कम रुकुम पूर्वमा २२ दशमलव ६ प्रतिशतले मात्र खोप पाएका छन् । खोपको मात्रा बढ्दै गएपछि कोरोना संक्रमण क्रमश घट्दै गएको छ ।




सम्बन्धित
Loading...